दमौली । तनहुँ समाज हङकङले मृटुमा समस्या भएकी बालिका र मिर्गौलापीडित एक महिलालाई आर्थिक सहयोग गरेको छ । दुवै पीडितका परिवारलाई समाजले शनिबार रु तीन लाख ९० हजार सहयोग गरेको हो ।
व्यास नगरपालिका–१४ हर्कपुरकी १६ महिने बालिका सविना थापाको उपचारका लागि रु एक लाख ९५ हजार र मिर्गौलापीडित सोही वडाको ठिनकी १९ वर्षीया खुश्वु रानाको उपचारका लागि रु एक लाख ९५ हजार सहयोग हस्तान्तरण गरिएको छ ।
सोह्र महिने बालिकालाई जन्मिदै मुटुको समस्या रहेको र उपचारका लागि अर्थाभाव भएपछि सहयोग गरिएको समाजका निवर्तमान अध्यक्ष भीमराज गुरुङले जानकारी दिए । ती बालिकाको अप्राकृतिकरूपमा मलद्वार र यौनाङ्गसँगै जोडिएकाले उक्त समस्याको शल्यक्रिया गर्नका लागि सहयोग गरिएको उनले बताए ।
ती बालिकाको हाल गङ्गालाल हृदयरोग केन्द्र काठमाडौँमा उपचार भइरहेको उनकी आमा तोरन थापाले जानकारी दिइन् । छोरीलाई एकैसाथ दुईवटा समस्या देखिएको र घरको अर्थावस्था कमजोर भएकाले सहयोगको याचना गरेको उनले बताइन् ।
व्यास नगरपालिका–१४ ठिनकी १९ वर्षीया खुश्बुको दुवै मिर्गौलामा समस्या देखिएपछि मिर्गौला प्रत्यारोपणका लागि सहयोगको अपिल गरिएको छ ।
हङकङमा विभिन्न सिलसिलामा गएका ४७ जना तनहुँवासीबाट सङ्कलित उक्त रकम पीडितका परिवारलाई हस्तान्तरण गरिएको छ । समाजका निवर्तमान अध्यक्ष गुरुङ र सल्लाहकार पुष्कर लुङ्गेलीले संयुक्तरूपमा पीडितका परिवारलाई हस्तान्तरण गरे । उक्त रकम समाजका कोषाध्यक्ष कुशबहादुर थापा र आजीवन सदस्य विक्रम थापाको संयुक्त संयोजकत्वमा सङ्कलन गरिएको संस्थाका सचिव सुवित गुरुङले जानकारी दिए । वडा कार्यालयको सिफारिससहित पीडित परिवारको अर्थावस्था निकै कमजोर रहेको भन्ने पत्र समाजलाई प्राप्त भएपछि सोहीअनुसार रकम सङ्कलन अभियान सुरु गरिएको उनले बताए ।
रकम हस्तान्तरण गर्दै पूर्वअध्यक्ष गुरुङले गम्भीर रोग लागेका अर्थावस्था कमजोर भएका परिवारलाई समाजले विभिन्न समयमा सहयोग गर्दै आएको बताए । “तनहुँ समाज हङकङमा आबद्ध साथीहरूको सामाजिक कामप्रतिको समपर्ण देखेर म आफूलाई पनि सामाजिक काममा थप लगाव बढेको छ”, उनले भने ।
सोही अवसरमा समाजका सल्लाहकार पुष्कर लुङ्गेलीले रोगको प्रकृति र पीडित परिवारको अवस्थाअनुसार सहयोग गर्ने गरेको बताए । तनहुँमा विगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुःख पीडामा परेको खबर प्राप्त भएपछि नेपालीसँग समन्वय गरी कमाइबाटै सहयोग रकम पठाउँदै आएको छ ।