बेनीपाटनमा खानेपानी ट्याङ्की निर्माण, वडाध्यक्ष श्रेष्ठले गरे उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बेनीपाटनमा खानेपानी ट्याङ्की निर्माण, वडाध्यक्ष श्रेष्ठले गरे उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०७८, सोमबार

    दमाैली । व्यास नगरपालिका–५ बेनीपाटनमा खानेपानी वितरणका लागि ट्याङ्की निर्माण गरिएको छ । वडा कार्यालयको बजेटबाट आसागुरी खोल्सी तथा मूल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ट्याङ्की निर्माण गरेको हो ।

    वडा कार्यालयको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत लागत सहभागितामा ट्याङ्की निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष परशुराम गिरीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयबाट गत र यस वर्ष गरी रु सात लाख बजेट विनियोजन भएको थियो । त्यसमा स्थानीयवासीले रु एक लाख ४० हजार लागत साझेदारी गरेका छन् ।

    पानीको मुहान संरक्षण गर्दै २० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको हो । खोल्साको पानी शुद्धिकरण गरी ट्याङ्कीमा जम्मा गरेर घरघरमा वितरण गरिएको गिरीले बताए ।

    उपभोक्ता समितिले तीन वटा ट्याङ्की निर्माण गरिसकेको छ । उक्त खानेपानी योजनामार्फत् यस क्षेत्रका एक सय ३६ घरधुरी र पराशर माध्यमिक विद्यालयमा खानेपानी सुविधा पुगेको छ ।

    उक्त ट्याङ्कीको सोमबार वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा श्रेष्ठले खानेपानी मूल संरक्षण गर्नुपर्नेमा जोड दिए । भूकम्पपछि मुहान सुक्दै गएकाले मूलको संरक्षण गर्नेतर्फ स्थानीयवासीले ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले पाँच वर्षको अवधिमा गरेको कामको मूल्याङ्कन जनताले गर्नुपर्ने बताए ।

    मानुङ सामुदायिक वनका अध्यक्ष क्या. हरिबहादुर थापाले वडाको विकासमा श्रेष्ठको भूमिका उच्च रहेको बताए । कार्यक्रममा बेतेनी टोल विकास संस्थाका अध्यक्ष नरबहादुर रानाभाट, उपाध्यक्ष नरबहादुर आले लगायतले व्यास ५ को विकासमा श्रेष्ठको भूमिका कहिल्यै बिर्सने नसकिने बताए ।