व्यासका मेयरले घाेषणापत्र अनुसार काम गरेनन्, झिनामसिना काम नै उपलब्धि !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका मेयरले घाेषणापत्र अनुसार काम गरेनन्, झिनामसिना काम नै उपलब्धि !

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७८, आईतवार

    दुलेगाैडा ।

    – व्यास नगरलाई सिधै तराईसँग जोड्ने चार लेनको सडक निर्माणलाई अगाडी बढाइनेछ ।
    – नगरलाई सरसफाईयुक्त बनाउन फोहरमैला व्यवस्थापन एवम प्रशोधन गर्ने कार्यक्रम लागु गरिने व्यवस्था गरिनेछ ।
    – रिस्ती, कलेस्ती, साँगे, छाब्दी, बुल्दीबर्दन उपत्यका विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
    – हाल भइरहेको तीब्र शहरीकरणलाई व्यवस्थित गर्न व्यास नगरका विभिन्न वडाहरुमा जग्गा विकास कार्यक्रम लागु गर्नुका साथै नमुनाबस्तीको विकास गरी सुविधायुक्त आवासको निर्माण गरिनेछ ।
    – नगरपालिका भित्रका केही उच्च पहाडी क्षेत्रहरु छनौट गरी नमूना पार्क फूल बगैंचा निर्माण गरी आन्तरिक पर्यटनलाई बढवा गरिनेछ ।
    – वैदेशिक रोजगारीमा प्राप्त सीप एवं पूँजीलाई लगानी नडुब्ने आयआर्जन हुने ग्यारेन्टीका साथ सदुपयोग गरिने कार्यक्रमहरु ल्याइने छ । युवाहरुलाई रोजगारीको अवसरहरुको सिर्जना गरिनेछ ।
    – नगर क्षेत्रका श्रमिकलाई श्रमिककार्ड व्यवस्था गर्न आवश्यक कदम चालिनेछ ।

    यी प्रतिबद्धता २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन अगाडी व्यास नगरपालिकाका गाउँ गाउँमा गरियो । नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका बैकुण्ठ न्यौपाने र उपमेयरमा उम्मेद्वारी दिएकी मिरा जोशीले चुनावी सभामा यस्तै यस्तै महत्वकांक्षी योजना र लोकप्रिय अजेन्डाका फेहरिस्त भाषणमा सुनाए । अन्तत निर्वाचनमा पनि उनै न्यौपाने र जोशी विजयी भए । मेयरमा न्यौपानले १३ हजार ५६ र उपमेयरमा जोशीले १३ हजार २६० मतका साथ विजयी भएर व्यास नगरपालिकाको बागडोर सम्हाल्ने सुनौलो अवसर पाए ।

    आगामी ३० बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भएको छ । निर्वाचन आयोग र राजनीतिक दलहरु निर्वाचन केन्द्रित तयारीमा जुटीरहेका छन् । पाँच बर्षे कार्यकाल सकिने बेला सम्ममा जिल्ला सदरमुकाममा रहेको व्यास नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका महत्वकांक्षी योजना कुनै पनि सुरु भएको छैन् । तराईसँग चार लेनको सडकले जोड्ने, उपत्यका विकास कार्यक्रम, नमुनाबस्ती विकास, फुलैफुलको बगैचाँसहितको नमुना पार्क, युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने, श्रमिकलाई श्रमिक कार्डको व्यवस्थापनमा व्यासले सिन्को पनि भाच्न सकेको छैन् । क्षेत्राधिकारमै नपर्ने तनहुँ जलविधुत आयोजना र दमौली अस्पताललाई पनि प्रतिबद्धतामा समावेश गरेका थिए ।

    फोहोरमैला व्यवस्थापन तथा प्रशोधन कार्यक्रम लागु गर्ने प्रतिबद्धताको खिल्ली उडाईरहेका छन जनप्रतिनिधीले । स्थायी डम्पिङ साइटको अभावमा बेलबखतमा दमौली बजार क्षेत्रको फोहोर उठ्दैन् । बजार चोकहरुमा थुप्रिने फोहोरको दुर्गन्धमा जनप्रतिनिधिले गरेको चुनावी प्रतिबद्धता सम्झदैँ नाक खुम्च्याउँदै हिँड्न बाध्य छन् नगरबासी । जनप्रतिनिधिले कार्यकालको आधा समयम त मादी नदीको किनारमा फोहोरको डुंगुर थुपारेरै विताए । यि मात्रै हैन् अधिकांश चुनावी प्रतिबद्धता अधुरै छन् ।

    स्रोत साधनको समुचित आँकलन गर्दा नसक्दा प्रतिबद्धता गरेका महत्वकांक्षी योजना सुरु नभएको मेयर न्यौपानले बताए । ‘तल्लो र माथिल्लो तहका सरकारबिचमा समन्वय हुन नसकेको कारण पनि हो । कैयौँ संघीय ऐनहरु बन्नुपर्ने बनेन् । संघीय ऐनको आधारमा प्रदेशले बनाउन पाएन् । जस्तै शिक्षाकै जिम्मा हामीलाई भनेको छ । धेरै कुरा अझैपनि संघीय सरकारसँगै सम्बन्धित छ’, अगाडी थप्दै उनी भन्छन्, ‘हामीसँग दक्ष कर्मचारी पनि भएनन् । कुनै पनि डिपिआर गरेर काम अगाडी बढाउ भन्यो भने हाम्रा कर्मचारीहरु सक्दैनन् । विशेषज्ञहरुबाट डिपिआर त गर्छौँ टेन्डर गर्न समस्या हुन्छ । बेइमानी कर्मचारी त म भन्दिन तर दक्षता नभएपछि इमान्दारिता र निष्ठाले मात्रै काममा दु्रतता आउँदो रहनेछ ।’ १५ बर्षसम्म जनप्रतिनिधिबाट ग्याप भएकाको परिस्थिती र विगतका सात गाविसलाई व्याससँग गाभिएकाले विकासको खाडललाई भर्नुपर्ने अवस्था हुदाँ अपेक्षित कामहरु नभएको उनी स्विकार्छन् ।

    मानहुँकोटलाई पर्यटकीय केन्द्रको रुपमा विकास, मादी नदी थुनेर ताल बनाउने डिपिआर, नारेश्वर ताल निर्माणको लागि अध्यनसँगै प्रकृया सुरु, १०८ फिट अग्लो व्यासको मुर्ति निर्माण सुरु गर्नुलाई मुख्य उपलब्धि बताउँछन् मेयर न्यौपाने । नगरको बजार क्षेत्रमा रहेका चोक सुधार, हरेक वडा कार्यालयमा पुग्ने कालोपत्रे पहुँचमार्गको निर्माण अगाडी बढाएको, पिसिआर ल्याब निर्माण, खानेपानी लगायतका कामलाई नै उनले आफ्नो कार्यकालमा गर्व गर्न लायक कामको सुँचीमा राखेका छन् । ‘यिनै कामहरुलाई हामीले गर्व गर्न लायक ठान्नुपर्दछ । स–साना काममा पनि राज्यप्रति निर्भर भए जनताहरु । चार पाता टिन हाल्दे, जिर्ण खानेपानीको पाइप ल्याईदे भन्ने । यिनै विषयलाई सम्बोधन गर्दागर्दै कार्यकाल गयो’, उनको प्रस्टोक्ति छ ।

    आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालयको भवन निर्माण कार्यकालको उपलब्धि भएको उनी बताउँछन् । दुई बर्ष कोरोनाका कारण पनि अपेक्षित काम गर्न नपाएको मेयर न्यौपानेको भनाई छ । ‘कोरोनाले गर्दा आम्दानी घटेका छन् । योजनाहरु समयमै सम्पन्न गर्न सकेनौँ । विकासको गति रोकियो’, उनले सुनाए ।

    यथास्थितीमा चल्ने बाहेक विकास निर्माणको काम खासै नभएको मेयरका प्रत्यासी शंकरनारायण श्रेष्ठ बताउँछन्् । ‘जति सम्भावना थियो, त्यो अनुसारको काम भएन् । उहाँहरु यथास्थितीमै रमाउनुभो । दिन काट्ने काल पर्खने काम भयो !’, व्यंग गर्दै उनले भने । नेकपा एककिृत समाजवादीका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले परिणाममुखी भन्दा वितरणमुखी बजेट बढी भएको बताए । ‘आमा समुहलाई दिने क्बललाई दिने यस्तै यस्तै । आफु नजिकका मान्छेलाई धेरै पैसा बाँडेको कारण ठोस विकास हुन सकेन्’, उनको आरोप छ ।

    जनप्रतिनिधिहरु पाँच बर्षे कार्यकालमा घोषणापत्रमा पुग्नै नसकेको श्रेष्ठको भनाई छ । घोषणा पत्रमा के उल्लेख गरिएको थियो एक पटक पनि पल्टाएर हेर्ने काम नभएको उनी बताउँछन् । व्यक्तिको पुँजी परिचालन गरेर निजी सार्वजनिक सरकारी साझेदारीमा गर्न सकिने सिँचाई, पर्यटन प्रर्बद्धन, मेडिकल कलेज र विश्वविद्यालय सञ्चालन जस्ता अवसर सदुपयोग नभएको उनले बताए । ‘व्यक्तिलाई मुनाफाको आश देखाएर पुर्वाधारको क्षेत्रमा थुप्रै लगानी गर्न सकिन्थ्यो । उहाँहरुले सक्नुभएन’, उनले भने ।

    प्रदेश र संघ सरकारसँग पनि सहकार्य नभएको उनको आरोप छ । पाँच बर्षमा ल्याण्डफिल साइट व्यवस्थापन नहुनु दुखद भएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘फोहोर मैलाबाट उर्जा उत्पादन गर्न सकिन्थ्यो । त्यसमा पनि निजि क्षेत्रसँग सहकार्य गरेर जान सकिन्थ्यो । त्यो पनि भएन् । सोच र नेतृत्व क्षमताको अभावले हुनुपर्ने विकास केही हुन सकेन् ।’

    वाचा नगरेपनि बन्यो पिसिआर ल्याब

    स्थानीय निर्वाचनका बेला विश्वमा कोरोना भाईरसको संक्रमण फैलिएला भन्ने अनुमान समेत थिएन् । २०७६ चैतमा नेपालमा कोरोना देखियो । कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि आफ्नै पिसिआर ल्याबको आवश्यकता खड्किएपछि व्यासले पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । असोज पहिलो सातादेखी व्यास नगरपालिका–१० दुम्सीमा नगरपालिकाले संघ, प्रदेशसँग मिलेर पिसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । ‘कोरोना नियन्त्रणमा हामीले उल्लेखिय काम गरेका छौँ । पिसिआर ल्याब सञ्चालन गरेका छौँ’, मेयर न्यौपानेले भने । स्थानीय तहले पिसिआर ल्याब सञ्चालन गर्नेमा व्यास सम्भवत गण्डकी प्रदेशकै पहिलो हो । दुम्सीमै नगर अस्पताल बनाउने काम पनि सुरु भएको छ ।

    प्रतिबद्धता गरेका महत्वकांक्षी काम नभएपनि व्यासको १०८ फिट अग्लो मुर्ति निर्माण सुरु भएको छ । सडकको ट्रयाक खोल्ने, स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने काम पनि भएका छन् । विधुतकिरण, खानेपानी, सामुदायिक भवन निर्माण, मठमन्दिर निर्माण, किसानलाई आधुनिक यन्त्र उपकरण र अनुदान वितरण, होमस्टे सञ्चालन, पर्यटकीय क्षेत्रको प्रचारप्रसार लगायतका काम पाँच बर्षको अवधिमा भएका छन् ।