पाेखरा । सत्तारुढ गठबन्धनमा भागबन्डा मिलाउने क्रममा भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिकामा अन्य दललाई नेतृत्व छाडेपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ । यसैबीच पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि कांग्रेस पोखरा महानगर समिति आन्दोलनमा उत्रिएको छ ।
बुधबार बिहान पोखरा महानगर समितिले चिप्लेढुंगास्थित जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छे नेतृत्वको टोलीले जिल्ला समिति कार्यालयमा तालाबन्दी गरेको हो ।
पोखरा महानगरपालिकाको मेयर समाजवादीलाई दिने निर्णयले नेपाली कांग्रेसका सम्पूर्ण सुभेच्छकहरूलाई गम्भीर चोट लागेको उल्लेख गर्दै महानगर समितिले मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उम्मेदवार उठाउने बताएको छ । महानगर समितिका सचिव गणेश थापाले मेयर र उपमेयर पदका उम्मेदवारको छनोट प्रक्रियामा रहेको उल्लेख गर्दै महानगरसमितिले पोखराको मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उठाउने तयारी गरेको बताए । समितिले बुधबार दिउँसो वडा सभापतिहरूको भेला बोलाएको छ । उक्त भेलाबाटै उम्मेदवारहरूबारे निर्णय गर्ने बताइएको छ ।
एमालेको जनाधार बलियो रहेको पोखरामा पनि कांग्रेसबाहेक अर्को दलले जित्ने सम्भावना नभएको दाबी गर्दै प्रमुख पद नछाड्न महानगर र जिल्ला समितिले केन्द्रीय नेतृत्वलाई दबाब दिँदै आएका थिए । आफ्नै प्रदेशको महानगरमा नेतृत्व लिन कांग्रेस नेता रामचन्द्र पौडेलले अन्तिम समयसम्म अडान राखेका थिए । तर उनले मंगलबार पौडेलले पोखराकै कारण गठबन्धन भत्किन भने दिएनन् । अन्य महानगरको भागबन्डामा त्यसअघि नै सहमति भएको थियो ।