दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताएका छन् । स्थानीय तह निर्वाचनका लागि आज तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले सङ्घीयता विकासका लागि फलदायी भएको बताए ।
स्थानीय तहले सङ्घीयता सफल भएको प्रमाण दिएको भन्दै वरिष्ठ नेता पौडेलले भने, “स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ ।”
वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे । स्थानीय तहका कारण अहिले सबै गाउँमा बजेट पुगेको बताउँदै वरिष्ठ नेता पौडेलले सङ्घीयताको सफल अभ्यास भएको बताए ।
स्थानीय तहमा बजेटको दुरुपयोग भइरहेकाले त्यसलाई निराकरण गर्न वित्तीय आयोग गठन गरिएपनि वित्तीय आयोगको सक्रियता नदेखिएको वरिष्ठ नेता पौडेलको भनाई थियो । स्थानीय तहमा आर्थिक अनुशासन आवश्यक पर्ने बताउँदै वरिष्ठ नेता पौडेलले वित्तीय आयोग सक्रिय हुनुपर्ने बताए । वित्तीय आयोगले आवश्यक कानून, नीति बनाएर त्यसलाई लागु गरी अनुगमन गर्नुपर्ने पौडेलले बताए । “स्थानीय तहमा बजेटको दुरुपयोग रोक्न वित्तीय आयोगले कडाई गर्नुपर्छ,” पौडेलले भने ।