भानु । तनहुँका १३६ मतदानस्थलको २९७ मतदान केन्द्रमा शुक्रबार विहान ७ बजेदेखि शान्तिपुर्ण वातावरणमा मतदान भइरहेको थियो।
संघियता कार्यन्वयनमा आएपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा मतदाता सहभागी भएर मतदान गरिरहेका थिए। कोही ह्विलचियरमा, कोही स्टेचरमा त कोही लौरी र आफन्तको साहारमा मतदान केन्द्रसम्म पुगेर गाउँ नगर र वडाको नेतृत्व चयनका लागि मतदान गर्दाको वातावरण उल्लासपुर्ण देखिन्थ्यो। तर दिउँसो ३ बजेतिर शान्तिपुर्ण तरिकाले भईरहेको जिल्लाको मतदानको वातावरण अशान्तमा परिणत भयो।
किनभने व्यास नगरपालिका–८ रिस्तीस्थित साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्रमा स्वतन्त्र मेयरका उम्मेद्वार दिपकराज जोशी कुटिए। मतदानको निरिक्षण गर्न पुगेका जोशीलाई नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गर्दा उनको टाउकोमा चोट लागेको छ।
कांग्रेस कार्यकर्ताले जोशी चढेको बा १५ च ६०२८ नम्बरको स्कारपियो तोडफोड गरेर सडकमा पल्टाइदिएका छन्। टाउको चोट लागेका जोशीको जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखरा लगिएको छ। हाल उनको पोखरास्थित फिस्टेल हस्पिटलमा उपचार भईरहेको छ।
रिस्ती नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पुख्र्यौली गाउँ हो। नेता पौडेलको मतदाता परिचयपत्र भने व्यास नगरपालिका–२ मा रहेको छ। पौडेलले शुक्रबार व्यास–२ को सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
बरिठ नेता पौडेलको गाउँमा आक्रमणमा परेपछि मेयरका उम्मेद्वारी जोशीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्नो समुहका एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग कुरा गर्दा हमाला भएको बताएका छन्। ‘यहाँ सबै गुण्डाहरु ल्याएर राखेका रैछन्।
हाम्ले हाम्रो एजेन्टहरु किन छैनन् भनेर मतदान अधिकृतसँग कुरा गर्दा हमला गरियो। मेरो टाउको फुटेको छ। यो रामचन्द्र पौडेलको गाउँमा हो। बहुदलिय व्यवस्थामा बरिष्ठ नेताको गाउँमा स्थिती तनावपुर्ण छ। म दुई मिनेट मात्रै भित्र नआएको भए मरिसकेको हुन्थे’, उनले भनेका छन्।
मतदान अधिकृत दमोदर कार्कीका अनुसार रिस्तीको मतदान केन्द्रमा विहानदेखी नै बेलाबेलामा सामान्य विवाद सिर्जना भईरहेको थियो। ‘सामान्य विवाद भईरहेको थियो। बाहिर कराउने क्यार्ने भईरहेको थियो’, उनको भनाई छ। दिउँसो १ बजेतिर नेकपा एमाले र स्वतन्त्रका उम्मेद्वारले मतदानको प्रकृयामा धाँदली भएको भन्दै निस्किएको उनले बताए। ‘यो मतदान मान्य हुदैन् भनेर निस्कनुभो । पछि स्वतन्त्रको साथीहरु आउनुभो। एमालेका साथीहरु आउनुभएन् । हामीले धेरैबेर कु¥यौँ । नआईसके पश्चात एकछिन रोकियो मतदान, फेरी सुचारु ग¥यौँ । सुचारु गरेपछाडी स्मिुथली मतदान चलिरहेको थियो’, उनले भने।
मतदान सुचारु भएपछि स्वतन्त्र मेयरका उम्मेद्वार (दिपक जोशी) आएर छलफल हुदै गर्दा दस्ताखत गरेको मतपत्र च्यातेको उनले बताए। मतदान अधिकृत कार्कीका अनुसार जोशी सहित तीन जना त्यहाँ थिए। ‘उहाँ आएर हाम्रा प्रतिनिधिलाई किन नबोलाएर मतादन सुचारु गरेको हो भनेर आवेगमा आएर मतपत्र च्यात्नुभो । मतपत्र च्यातेपछि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन्’, उनले भने।
एउटै व्यक्तिले धेरै पटक मतदान गरेको भन्दै एमाले र स्वतन्त्र उम्मेद्वारले बहिष्कार गरेको उनले बताए। ‘त्यस्तो अवस्था त थिएन यहाँ। सबै प्रतिनिधी र उहाँहरु हुनुहुन्थ्यो’, उनको प्रस्टोक्ति छ। जोशीलाई आक्रमण भएपछि एक घण्टा १५ मिनेट मतदान केन्द्रमा तनावग्रस्त स्थिती सिर्जना भएको उनले बताए।
उक्त मतदान केन्द्रमा साढे ६ बजे मतदान सकिएको छ। ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकालाई मतदान गर्न दिईएको उनले उल्लेख गरे। रिस्ती गाविस भवन फेदीको मतदानस्थलको ‘क’ र ‘ख’ मा गरेर एक हजार ५६६ मतदाता रहेकोमा ९२२ मत खसेको छ। मुचुल्का उठाएर व्यास नगरपालिकामा मतपेटिका पठाउने तयारी भईरहेको उनले जानकारी दिए।
नेपाली कांग्रेसका साधरण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहले जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय निर्वाचनमा होमिएको हो। व्यासमा स्वतन्त्रको तर्फबाट मेयरमा उम्मेद्वारी दिएको दिपकराज जोशीपुत्र हुन्।
विशेष त व्यास नगरपालिकामा जोशी समुह र कांग्रेसबिच प्रतिष्ठाको लडाई हुदैछ यसपालीको निर्वाचनमा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको प्रतिष्ठाको लडाईको कारण तनावपुर्ण स्थितीको सिर्जना भएको हो।
नेकपा एमाले र गोविन्दराज जोशी समूहले व्यास नगरपालिका–८ रिस्तीमा पुनः मतदान गर्न माग गरेका छन्। नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समूहका तर्फबाट हरिशरण पण्डितले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रकृया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान गर्न माग गरेका हुन्।
मतदान चलिरहेका बेला मतदानस्थल पुगेका एमाले र जोशी समूहका तर्फबाट प्रमुखका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो। आक्रमणबाट घाइते जोशीलाई उपचारका लागि पोखरा पठाइएको छ
मतदानका क्रममा भएका प्रकृयाहरु छानबिन गरी पुनः मतदान हुने स्थिति नहुँदासम्म अन्य मतदान केन्द्रका मतपेटिकाका मतहरु समेत गणना नगर्न अनुरोध गर्दै मतगणनामा सहभागी नहुने विज्ञप्तीमा उल्लेख छ।