दुलेगौडा । शुक्लागण्डकीको एक वडाले फोन गर्दा पैसा नलाग्ने टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ । वडाका सेवाग्राहीको लागी शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ को कार्यालयले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको हो । टोलफ्रि नम्बर सञ्चालनमा ल्याउने यो वडा सम्भवत तनहुँकै पहिलो हो ।
वडाध्यक्ष बुद्धिबहादुर थापाले वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा पुग्दा वडा कार्यालयको सेवाबारे बुझ्नलाई पैसा नलाग्ने टेलिफोन नम्बर सञ्चालन गर्ने वाचा गरेका थिए । उनको घोषणा पत्रमा पनि यो योजना समेटिएको थियो । वडाध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हालेका थापाले एक सातामै टोलफ्रि नम्बर सञ्चालन गर्दै प्रतिबद्धता कार्यन्वयनको दिशामा अगाडी बढेका छन् ।
सोमबारदेखी टोलफ्रि नम्बर सञ्चालनमा आएको वडाध्यक्ष थापाले जानकारी दिए । १६६०६५५२००३ नम्बरमा फोन गरेर वडा कार्यालयको सेवाबारे जनप्रतिनिधि र कर्मचारीसँग वडाबासीले निशुल्लक कुरा गर्न सक्नेछन् ।
टोलफ्रि नम्बरले वडाबासीलाई वडाको सेवा र आवश्यक कागजात बारे बुझ्न सहज हुने वडाध्यक्ष थापाको विश्वास छ । ‘सबै जनतनासँग सधैँ मोबाइलमा पैसा हुन्छ भन्ने हुदैन् । मोबाइलबाट फोन गर्दा पैसा नलाग्ने भएपछि सेवा लिदाँ के–के कागजात चाहिन्छ भनेर पहिल्यै सम्पर्क गर्नुहुन्छ । गाउँबाट आउने सेवाग्राहीले आवश्यक कागजत नपुगेर फेरी अर्को दिन आउनुपर्ने समस्याको समाधान हुने विश्वास छ’, उनले भने । कागजात नभएर दुई दिन वडा कार्यालय धाउनुपर्ने झन्झटबाट वडाबासीलाई मुक्त गराएर सहज रुपमा सेवा दिन टोलफ्रि नम्बर उपयोगी हुने उनको भनाई छ ।