द्रुत सेवाका लागि शुक्लागण्डकीमा ‘सेवा प्रवाह केन्द्र’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    द्रुत सेवाका लागि शुक्लागण्डकीमा ‘सेवा प्रवाह केन्द्र’

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०७९, शुक्रबार

    दुलेगौडा । सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राही हरेक शाखामा धाउनुपर्दा दिक्क मान्छन् । फाइल बोकेर कहिले यता कहिले उता धाउनुपर्दा सेवाग्राहीले झन्झट मान्छन् । र सरकारी कार्यालयले दिने सेवाप्रति ढिलासुस्तीको गुनासो आउँछ ।

    शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीलाई फाइल बोकेर हरेक शाखामा धाउनुपर्ने सास्तीको अन्त्य गरिदिएको छ । सबै शाखाको सेवा एकै ठाउँबाट लिनलाई नगरपालिकाले ‘सेवा प्रवाह केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

    नगरपालिकाको भवनमा प्रवेश गर्ने वित्तिकै सेवाग्राही भुईतलामा रहेको ‘सेवा प्रवाह केन्द्र’ मा पुग्छन् । सेवाग्राही के कामका लागि आएको हुन ‘सेवा प्रवाह केन्द्र’ मा रहेका कर्मचारीलाई बताएर फाइल बुझाएपछि त्यहाँका कर्मचारीले नै सेवाग्राहीको फाईल शाखामा पु¥याइदिन्छन् । काम सकिएपछि कर्मचारीले नै फाइल ल्याएर सेवाग्राहीको हातमा थमाउँछन् । कागजात नपुगेको खण्डमा सेवाग्राहीलाई बुझ्ने गरेर जानकारी गराउँछन् ।

    सरकारी कार्यालयमा पुगेर दौडधुप नगरीकन कर्मचारीलाई फाइल थमाएर सेवाग्राही आरामले बस्ने पाउने गरी शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको ‘सेवा प्रवाह केन्द्र’ सम्भवत देशमै पहिलो हो । सेवाग्राहीको सहजताका लागि यस्तो अभ्यास अन्य स्थानीय तहमा भएको पाईदैन् । शुक्लागण्डकी नगरपालिकामा भने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन विहीबारदेखी ‘सेवा प्रवाह केन्द्र’ सञ्चालनमा ल्याईएको छ ।

    जनतालाई सेवा सहज रुपमा दिनलाई केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख कृष्णराज पण्डितले बताए । ‘केन्द्रबाट शाखामा धाउन नपर्दा सेवा लिन आउने जनतालाई सजिलो हुन्छ । सेवाग्राहीको आउजाउ कम हुदाँ कर्मचारीले पनि आफ्नै सुरमा काम गर्न पाउनुहुन्छ’, उनले भने । कर्मचारीको कामले गति लिने उनको विश्वास छ । संघियताको मुल मर्म अनुसार काम गर्नलाई ‘सेवा प्रवाह केन्द्र’ ले सघाउने मेयर पण्डितले बताए ।

    शुक्लागण्डकी नगरपालिकामा प्रवेश गरेका जनतालाई कसरी प्रभावकारी सेवा दिन सकिन्छ भनेर लागेको उपप्रमुख खुमबहादुर विक (राजु) बताउँछन् । ‘सकेसम्म सर्भिस डेलिभरीलाई सहज बनाउनुपर्ने हुन्छ’, उनले भने । उनले आफुले उपप्रुमखको हैसियतले पहिलो अनुगमन र मुल्यांकनको सुरुवात नगरपालिकाको कार्यालयबाट गर्नेे बताए । शुक्लागण्डकी नगरपालिकाको कार्यालयबाट शुसासनको शुभारम्भ भएको उनको भनाई छ ।

    ‘सेवाग्राहीले शाखा प्रमुख, प्रमुख कार्यकारी अधिकृतलाई खोज्दै जाने हैन् । सेवाग्राहीलाई समस्या प¥यो भने खोज्दै उहाँहरु आउने सुरुवात गरेका छौँ’, उनले भने । सेवाग्राहीले सेवा पाउने सुनिश्चितता ‘सेवा प्रवाह केन्द्र’ ले गर्ने उनको भनाई छ ।

    प्रमुख कार्यकारी अधिकृत लिलाबल्लव न्यौपानेले असार मसान्तसम्म ‘सेवा प्रवाह केन्द्र’ को परिक्षण हुने बताए । त्यसपछि ‘सेवा प्रवाह केन्द्र’ लाई डिजिटल रुपमा रुपान्तरण गर्ने उनको भनाई छ । नगरपालिकाको कार्यालयले सुशासन र सेवा प्रवाहलाई चुस्त बनाउने उनले बताए । ‘सेवाप्रवाहलाई जनमैत्री र सहज बनाउन खोजेका हौँ’, उनले भने ।