


दमाैली । तनहुँको व्यास नगरपालिका–७ नरङ्गा निवासी मिर्गौला पीडित ४० वर्षीय सोमबहादुर विकको उपचारका लागि प्रवासीले सहयोग जुटाएका छन् । वैदेशिक रोजगारीका क्रममा दुवई पुग्नुभएका विकको सात महिनाअगाडी दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारमा सहयोग जुटाउन प्रवासीले रु पाँच लाख पठाएका हुन् ।
सयपत्री नेपाली सेवा समाज युके, विश्वकर्मा वेयलफेयर सोसाइटी युके, तीन दोभान तनहुँ समाज युके, वेलायती सेनामा कार्यरत इन्टेक ०३ मा कार्यरत प्रहरीहरुले पठाएको उक्त रकम शुक्रबार मिर्गौला पीडित विकलाई हस्तान्तरण गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले उक्त रकम हस्तान्तरण गर्दै विदेशमा बसेरपनि ठूलो रकम जुटाउनु सामान्य नभएको उल्लेख गरे ।
दुवई पुगेको केही महिनामै दुवै मिर्गौलाले काम गर्न छाडेपछि विकले आफ्ना साथी किसान परियारलाई यसबारेमा जानकारी गराएका थिए । बेलायतमा प्रहरीमा कार्यरत सहपाठी किसानले सोमबहादुरको कुरा सुनेपछि रकम सङ्कलन अभियान सुरु गरेका थिए ।

किसानले बेलायतमा सङ्कलित उक्त रकम दाजु अमृतमार्फत् पठाएका हुन् । “मेरा लागि साथीले ठूलो गुन लगाउनुभयो, ये भन्दा ठूलो पुण्यको काम के नै हुन सक्ला र ?” सोमबहादुरले भने । बिहीबार मात्रै दमौली अस्पतालबाट डायलायसिस सेवा सुरु गरेका उनले मिर्गाैला प्रत्यारोपण गर्ने बताए ।
मिर्गाैला पीडित विकले आफूलाई सहगोग गरी जीवन रक्षा गरिदिन सबैमा आग्रह गरेका छन् । उनले सोमबहादुर विकको नाममा कुमारी बैङ्क दमौली शाखामा रहेको खाता नम्बर ०१४०१०७१९१२००००१ मा रकम जम्म गरिदिई जीवनरक्षाको अपिल गरेका छन् ।