दुलेगौँडा : जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० मा योजना तर्जुमा गरिएको छ । आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट तयार पार्न योजना तर्जुमा गरिएको हो ।
वडाको जनप्रतिनिधिले टोल टोलमा पुगेर योजना माग गरेर ल्याएका थिए ।
वडामा रहेका टोल विकास संस्थाका पदाधिकारी, संघसंस्थाका प्रतिनिधि, राजनीति दलका प्रतिनिधिसँग योजना तर्जुमाका लागि अन्तरक्रिया गरिएको छ । वडा कार्यालयमा भएको अन्तरक्रियामा उपस्थितले सडक, स्वास्थ्य,शिक्षा, कृषि, नदी कटान नियन्त्रण, बिजुली लगायतका योजना माग राखे ।
सो अवसरमा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले सडकलाई उत्पादनसँग जोड्नुपर्ने बताए । जनताको वास्तविक आवश्यकतालाई ध्यान दिदैँ आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट तयार पार्ने उनको भनाई छ । ‘मानविय बिकासलाई पनि जोड दिईनेछ’,उनले भने । पहुँचको आधारमा योजना पर्ने पारिपाटीको अन्त्य हुने उनको उद्घोष छ । ‘पहुँच र पार्टीगत हिसाबले बजेट बाडिदैन्’, उनले भने ।
उपप्रमुख खुमबहादुर विक (राजु) ले सम्पन्न हुने योजनलाई बजेट विनियोजन गर्ने बताए । कृषि उत्पादनलाई प्राथमिकता दिने उनको भनाई छ । ‘कृषिमा दिईने अनुदानलाई व्यवस्थित गरिनेछ । एउटा भैँसीले पाले दुध बेच्ने किसानलाई पनि अनुदान दिईनेछ’, उनले भने । उत्पादन र विक्रीको आधारमा अनुदानलाई व्यवस्थित उनले बताए ।
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले भौतिक पुर्वाधार विकाससँगै संरक्षण गर्न आवश्यक रहेको बताए । ‘भौतिक पुर्वाधार विकाससँगै मानविय विकास पनि आवश्यक रहेको छ’, उनको भनाई छ ।
निर्वतमान वडाध्यक्ष रामचन्द्र भण्डारीले ढोरबाराही मोटरमार्गलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाई छ । यो मोटर बाटोले नै दुलेगौँडा बजार धानेको उनको दाबी छ ।
नेकपा एमाले वडा कमिटीका अध्यक्ष मदन थापाले ढोकाबाट गएका योजनलाई दराजमा थन्क्याएर झ्यालबाट छिराइएको योजनाले प्राथमिकता पाउने गरेको भन्दै व्यंग्य गरे ।
नेपाली कांग्रेसका वडा सभापति खड्कविक्रम खाँण ठकुरीले नदी नियन्त्रणका लागी भएका टतबन्धन मनलाग्दी भएको बताए ।
सो अवसरमा वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले आगामी आर्थिक बर्षमा वडाले कार्यन्वयन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वडाको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, वातारण, पर्यटन लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।