दमाैली । खेलकुद विकास समिति तनहुँको आयोजनामा राष्ट्रपति रनिङशिल्ड जिल्लास्तरीय प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा साेमबार बसेको प्रतियोगिता व्यवस्थापन निर्देशन समितिको बैठकले असार १८ र १९ गते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिताका लागि स्थानीय तहबाट खेलाडी छनौट गरी असार १७ गतेभित्र समितिको कार्यालयमा नाम दर्ता गराउन आग्रह गरिएको छ । खेलाडी दर्ता फारम अनिवार्य भराउनुपर्ने, साथै १८ वर्ष ननाघेको उमेर खुलेको कागजात समेत समावेश गर्नुपर्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, उस्सु खेल सञ्चालन गरिनेछ । तनहुँबाट छनौट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद परिषद्ले असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरेको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालनका लागि खेलकुद विकास समितिका अध्यक्षको संयोजकत्वमा प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति गठन गरिएको छ । समितिमा स्थानीय तहको प्रमुखले तोकेको प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीले तोकेको प्रतिनिधि, शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले तोकेको प्रतिनिधि, जिल्लास्थित नेपाली सेनाका प्रमुखले तोकेको प्रतिनिधि, प्रहरी कार्यालयका प्रमुखले तोकेको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रमुखले तोकेको प्रतिनिधि लगायत सदस्य रहने प्रावधान छ ।