दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ मजुवामा ट्रकको ठक्करबाट नेपाल पत्रकार महासङ्घ तनहुँका सचिव प्रताप राना घाइते भएका छन् । पोखराबाट तनहुँको भिमादतर्फ आउँदै गरेका राना सहित श्रीमती छोरी ट्रकको ठक्करबाट घाइते भएका हुन् ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार रानाकी श्रीमती रमा थापा र छोरी समेत घाइते भएकी छन् । उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये राना र छोरीको अवस्था सामान्य रहेको र श्रीमतीको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
यसैबीच नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले मङ्गलबार विज्ञप्ती प्रकाशित गरी घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ । शाखाका अध्यक्ष उज्ज्वल पौडेलद्वारा जारी विज्ञप्तीमा दुर्घटनाका दोषीलाई तत्काल कानूनी कारवाहीमा ल्याई घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन माग गरिएको छ ।