भानु । दुई सय नवौ भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ । भन्सार युवा क्लवको आयोजनामा भानु नगरपालिका–१ मा बुधबार सञ्चालित फाइनल खेलमा सिद्धगुफा युवा क्लवलाई पराजित गर्दै तनहुँ–११ ले पन्ध्रौ भानु कपको उपाधि पक्का गरेको हो ।
सिद्धगुफा युवा क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै तनहुँ–११ ले उपाधि जितेको हो ।
विजयीसँगै तनहुँ–११ ले नगद रु दुई लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता सिद्धगुफा युवा क्लवले नगद रु एक लाख, ट्रफी र मेडल प्राप्त गरेको छ ।
फाइनल खेलको म्यान अफ दि म्याच सिद्धगुफा युवा क्लवका सन्दिप थापा घोषित भएका छन्। प्रतियाेगिता अवधिभर सर्वाधिक गोलकर्ता तनहुँ–११ का दिपेश आले घोषित भए । उनले प्रतियोगिता नौ गोल गरेका थिए ।
उत्कृष्ट गोलरक्षकको उपाधि तनहुँ–११ का प्रदीप भण्डारीले प्राप्त गरे। अनुशासित क्लवको उपाधि मस्र्याङ्दी युवा क्लव गोरखाले पाएको छ भने उत्कृष्ट खेलाडी तनहुँ–११ का रन्दिप पौडेल घोषित हुनुभएको आयोजक क्लवका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताका विजेताहरुलाई नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले बाेलेका थिए ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।