दमाैली । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा आज एकैदिन पाँच हजार भन्दा बढी भक्तजनले पूजाआजा गरेका छन् । साउन १ गतेदेखि एक महिनासम्मका लागि मन्दिर बन्द हुने भएकाले शनिबार धेरै सङ्ख्यामा भक्तजन मन्दिरमा पूजाआजाका लागि आएका हुन् ।
असारको अन्तिम दिन शनिबार पनि परेकाले तनहुँ जिल्लाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि भक्तजन पूजाआजाका लागि आएको छाब्दीवाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थानबहादुर थापाले जानकारी दिए।
“आज बिहानैदेखि मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड रह्यो, अन्य दिनको शनिबार पनि भक्तजनको भीड नै हुन्छ,” उनले भने “भोलिबाट मन्दिर एक महिनाका लागि बन्द हुने भएकाले पनि आज धेरै भक्तजन आउनुभयो ।”
थापाका अनुसार भोलिबाट पाँच दिन मन्दिरमा धूप पनि चल्दैन । पाँच दिनपछि भने पूजारीबाट बिहान बेलुका धूप बालिन्छ । भक्तजनका लागि पनि पूजाआजा निषेध गरिन्छ । भक्तजनलाई बाहिरैबाट दर्शनको व्यवस्था भने मिलाइने थापाले बताए । “साउन महिनामा पनि भक्तजन मन्दिरमा आउनुहुन्छ, बाहिरैबाट दर्शन गर्ने व्यवस्था भने मिलाउँछौ,” थापाले भने ।
मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यहाँ तनहुँ सहित छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङ लगायतबाट भक्तजन आउने गरेका छन् ।
तस्वीर : रुटिन अफ दमाैली बन्द
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन चेतावनी छ ।