बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०७९, आईतवार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेन्डेट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौ तह) दुवै जना अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो ।

    अस्पतालमा हाल करारमा कार्यरत चिकित्सकहरुको पनि सेवा समाप्त हुने अवधि नजिक रहेकाले दैनिक स्वास्थ्य सेवा प्रवाहमा अप्ठ्यारो परेको गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। “अस्पतालमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रवाहमै समस्या आउने भएपछि स्वास्थ्य सचिवालाई भेटी चिकित्सकको माग गरेका हौ,” उनले भने ।

    अस्पतालमा मेडिकल सुपरिटेन्डेट सहित छ वटा मेडिकल अधिकृतको दरबन्दी रहेकामा अस्पताल लामो समयदेखि मेडिकल सुपरिटेन्डेट विहिन छ । दुई जना मेडिकल अधिकृत छात्रवृत्तिमा अध्ययनका लागि बिदामा छन् । हाल तीन जना मेडिकल अधिकृत कार्यरत छन् ।

    छात्रवृत्तिका लागि गएका दुई जना चिकित्सकको दरबन्दी प्रदेशमा स्थानान्तरण गरी दुई जना चिकित्सक नियुक्तिका लागि मन्त्रालयसँग अनुरोध गरिएको थापाले बताए। “अस्पतालबाट सबै विवरण सहित चिठी लेखेर मन्त्रालयमा पठाएपछि उनीहरुलाई प्रदेशमा स्थानान्तरणका लागि सहयोग गर्ने स्वास्थ्य सचिवबाट प्रतिबद्धता आएको छ, त्यसपछि त्यस ठाउँमा अर्को चिकित्सक नियुक्ति हुनेछ,” उनले भने ।

    विसं २०२२ सालमा स्थापना भएको बन्दीपुर अस्पतालका भवनहरु जीर्ण भएकाले भवन निर्माणका लागि बजेट विनियोजन गरिदिन पनि मन्त्रालयसँग माग गरिएको छ । विसं २०७२ सालको भूकम्पका कारण पनि भवनमा थप क्षति भएकाले सेवा प्रवाहका कठिनाई भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। “स्थापनाकालदेखि निर्मित भवनहरुबाट नै हालसम्म सेवा सञ्चालन भइरहेको र भवनहरु जीर्ण भइसकेको अवस्था छ, नयाँ भवन निर्माण गर्नुपर्ने आवश्यकता छ,” उनले भने ।

    यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रसँग क्षयरोगी पहिचानका लागि जेनेक्सपर्ट उपकरण माग गरिएको छ । बन्दीपुर अस्पतालमा क्षयरोगीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र बन्दीपुरमै डिआर होम सञ्चालनमा रहेकाले क्षयरोगी पहिचानका लागि उक्त उपकरण आवश्यक भएको जनाइएको छ ।

    बन्दीपुर अस्पतालमा तनहुँका अतिरिक्त गोरखा, लमजुङबाट पनि क्षयरोगी उपचारका लागि आउने गरेका छन् ।