तनहुँमा थपिए ४८८४ नयाँ मतदाता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए ४८८४ नयाँ मतदाता

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०७९, आईतवार

    दमाैली । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार आठ सय ८४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सुचारु भएको थियो ।

    एक महिनाको अवधिमा दुई हजार दुई सय ९८ महिला र दुई हजार चार सय ७८ पुरुष गरी चार हजार सात सय ७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । त्यस्तै बाहिरी जिल्लाका एक सय आठ जना मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन् ।

    मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण देखिएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। “फोटो सहितको मतदाता नामावली दर्ता गरी मताधिकार सुरक्षित गर्न सर्वसाधारणमा आकर्षण देखिएको छ,” उनले भने “दैनिकजसो कार्यालयमा भीड हुन्छ ।”

    मतदाता नामावली दर्ताका लागि विभिन्न पालिकाबाट सर्वसाधारण बस रिजर्भ गरेर आउने गरेका छन् । “निर्वाचन घोषणा नभएसम्म मतदाता नामावली दर्ता हुन्छ, निर्वाचन घोषणा हुने बित्तिकै स्थगित गर्छौ,” ढकालले भने ।

    मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्तास्थल राखिएको छ । निर्वाचन कार्यालयमा तीन र प्रशासन कार्यालयमा एक दर्तास्थल राखिएको छ । प्रशासन कार्यालयमा नागरिकता वितरण हुने बित्तिकै मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ । दुवै ठाउँमा गरी दैनिक एक सय भन्दा बढीको मतदाता नामावली दर्ता भइरहेको ढकालले बताए।

    निर्वाचन कार्यालयबाट दुई हजार पाँच सय ६० र जिल्ला प्रशासन कार्यालयबाट दुई हजार दुई सय १६ जना मतदाताको विवरण दर्ता भएको छ । त्यस्तै तनहुँ जिल्लाभन्दा बाहिरका एक सय आठ जनाले पनि निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएका छन् । पाँच सय १५ जनाको बसाइसराइबाट मतदाता नामावली अद्यावधिक गरिएको छ ।

    असार १ गते एक सय २७, असार २ गते एक सय १५, असार ३ गते एक सय ३१, असार ५ गते एक सय ८१, असार ६ गते दुई सय दुई, असार ७ गते एक सय ८८, असार ८ गते एक सय ७४, असार ९ गते एक सय ६६, असार १० गते एक सय आठ, असार १२ गते एक सय ५९, असार १३ गते एक सय ५१, असार १४ गते एक सय २७, असार १५ गते एक सय ३० जनाको मतदाता नामावली दर्ता भएको छ ।

    असार १६ गते एक सय ३७, असार १७ गते एक सय, असार १९ गते एक सय ३५, असार २० गते एक सय ७४, असार २१ गते एक सय २६, असार २२ गते एक सय २०, असार २३ गते एक सय ८७, असार २४ गते एक सय १५ र असार २७ गते चार सय ४०, असार २८ गते तीन सय ३१, असार ३० गते छ सय ७६ र असार ३१ गते तीन सय ४५ जनाको मतदाता नामावली दर्ता भएको छ ।

    निर्वाचन कार्यालयले विवरण सङ्कलन गराउन र यसपूर्व सङ्कलित विवरणमा कुनै त्रुटी भएमा वा फरक परेमा अद्यावधिक गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । कार्यालयले यसपूर्व नामावलीमा नाम दर्ता गर्न छुट नागरिकहरुले सक्कल नागरिकता र सोको एक प्रति प्रतिलिपि सहित स्वयं उपस्थित हुन, नागरिकताको स्थायी ठेगाना भन्दा फरक ठेगानामा नामावली दर्ता गराउनु परेमा विवाह दर्ता वा बसाइसराइको प्रमाणपत्र पेश गर्नुपर्ने जनाएको छ ।

    बाहिरी जिल्लाको मतदाता दर्ताका लागि अन्य जिल्लामा स्थायी बसोबास भई तनहुँमा विभिन्न पेशा व्यवसायी गरिरहनुभएका नागरिकहरुले स्थायी ठेगानामा नामावली रहने गरी नाम दर्ता गराउन चाहेमा नागरिकताको सक्कल प्रमाण सहित स्वयं उपस्थित हुन कार्यालयले आग्रह गरेको छ ।

    यस्तै नामावलीमा रहेको कुनै विवरण सच्याउनुपरेमा सोलाई पुष्टि गर्ने नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीको ठेगाना सार्नु परेमा विवाह दर्ता वा बसाइसराइ प्रमाणपत्र, एउटै वडाभित्रको एउटा मतदान स्थलबाट अर्कोमा सार्नुपरेमा मतदाताको निवेदन, विवाह वा बसाइसराइ भई अन्तर जिल्ला ठेगाना सार्नुपरेमा नामावली रहेको जिल्ला वा जान चाहेको जिल्लामध्ये कुनै पनि जिल्लाको निर्वाचन कार्यालयमा निवदेन दिन सक्ने कार्यालयले जनाएको छ ।

    तनहुँमा हालसम्म दुई लाख ४४ हजार तीन सय ४० मतदाता कायम भएका छन् । विसं २०७९ साल वैशाख २९ गतेसम्म एक लाख १७ हजार एक सय ३४ पुरुष र एक सय २७ हजार दुई सय छ मतदाता छन् ।