भत्ता नपाउनेलाई पनि ऋषिङले बाँड्यो सामाजिक सुरक्षा भत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    भत्ता नपाउनेलाई पनि ऋषिङले बाँड्यो सामाजिक सुरक्षा भत्ता

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७९, शनिबार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नपाउनेलाई पनि भत्ता वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ मा दलित महिला सदस्य भुलमाया परियार र वडा नम्बर ४ कार्यपालिका सदस्य टुनबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

    सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा ९ (२) अनुसार कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति वा मनोनित भई वहाल रहेको व्यक्ति, नेपाल सरकार स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको आंशिक वा पूर्ण स्वामित्वमा रहेको सङ्गठित संस्थाबाट नियमित रुपमा पारिश्रमिक वा निवृत्तिभरण, अवकास सुविधा वा अन्य सुविधा पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था छ ।

    तर गाउँपालिकाले ती दुई जनप्रतिनिधिलाई आर्थिक वर्ष ०७७÷७८ मा भत्ता वितरण गरेको छ । भुलमाया परियारको प्रतिचौमासिक १२ हजारका दरले ३६ हजार र टुनबहादुर सार्कीको प्रतिचौमासिक ८ हजारका दरले एक आर्थिक वर्षको २४ हजार असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखा परीक्षकको कार्यालयले विगत आर्थिक वर्षको सम्बन्धमा समेत छानबिन गरी दोहोरा भुक्तानी भएको रकमका सम्बन्धमा एकिन गर्नुपर्ने उल्लेख गरेको छ ।