दमाैली । तनहुँको व्यास नगरपालिकाले दसैं तथा तिहारमा नगरप्रहरीको आलोपहराको अनुगमन गरेबापत कर्मचारीले भत्ता लिएको खुलेको छ । आर्थिक वर्ष ०७७÷७८ मा नगरपालिकाका कर्मचारीले नगर प्रहरीको पालो पहराको अनुगमन गरे बापत भत्ता लिएका हुन् ।
१९ जना नगर प्रहरीलाई बिदाको समयको भुक्तानी गरिएकामा पुनः पाँच जना कर्मचारीले नगर प्रहरीको अनुगमन गरे बापत भुक्तानी लिएको कार्यलाई महालेखा परीक्षकको कार्यालयले अस्वभाविक भनेको छ । महालेखा परीक्षकको कार्यालये उक्त रकम सम्बन्धित कर्मचारीबाट असुल गर्न निर्देशन दिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार शाखा अधिकृत मेघनाथ आचार्यले ९ दिनको १० हजार सात सय ९१, सूचना प्रविधि अधिकृत विशाल पण्डितले ९ दिनको १० हजार सात सय ९१, नायब सुब्बा चेतबहादुर दरैले ५ दिनको चार हजार सात सय, नायब सुब्बा अर्जुनकुमार श्रेष्ठले ९ दिनको आठ हजार चार सय ६० र खरिदार तिलकुमारी थापाले चार दिनको तीन हजार पाँच सय ४८ बुझेका थिए ।