दमाैली । तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा ती उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयका रवि अधिकारीले जानकारी दिए ।
कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । तनहुँमा थपिएका उद्योगको कूल पुँजी रु ६३ करोड ५२ लाख रहेको कार्यालयले जनाएको छ ।
ती उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब ७१ करोड ८७ लाख ५० हजारको छ । थपिएका उद्योगमा पाँच सय ३४ महिला र पाँच सय एक पुरुष गरी एक हजार ३५ जनाले रोजगारी पाएका छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् ।
उद्योग दर्ता बापत रु २४ लाख तीन हजार राजस्व सङ्कलन भएको छ । सोही अवधिमा तीन सय ९६ उद्योगको नवीकरण गरिएको छ । यस्तै ५४ उद्योगले नामसारी, चार उद्योगले ठाउँसारी, ७७ उद्योगले उद्देश्य थप तथा ६७ उद्योगले पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । सो अवधिमा ती उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख लगानी भएको थियो ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।