बुटवल । श्रीमानले जबरजस्ती करणी गरेको भन्दै रुपन्देहीमा एक महिलाले प्रहरीमा उजुरी दिएकी छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले आफ्नै श्रीमानबाट आफू बिरामी भएको समयमा समेत पटक-पटक जबरजस्ती करणी र शारीरिक हिंसा गरेकाे भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी हुन्।
उनले आफूमाथि भएकाे हिंसामा जनप्रतिनिधी समेत रहेकी सासु र ससुराले समेत श्रीमानकाे संरक्षण गरेकाे आराेप लगाएकी छन्।
उनले प्रहरी समक्ष दिएको उजुरीका अनुसार गत साउन १४ गते राति उनका श्रीमानले मदिरा पिएर कुटपिट गरेका थिए।
साउन १५ गते बिहान उनले इलाका प्रहरी कार्यालय मंगलापुरमा पुगेर उजुरी दिएकी थिइन्। प्रहरीकहाँ उजुरी दिएपछि पनि पतिले गाली बेइज्जती गर्दै कुटपिट गरेको उनकाे भनाइ छ।
उनकाे बयानकाे आधारमा जाहेरी दर्ता भइसकेको र कानुनी प्रक्रियामा अगाडि बढ्ने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए।