घुस लिएको अभियोगमा सव-इन्जिनियर अमलेश दमौलीबाट पक्राउ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घुस लिएको अभियोगमा सव-इन्जिनियर अमलेश दमौलीबाट पक्राउ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७९, शनिबार

    दमौली । ७५ हजार घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट शनिबार एक जना सव-इन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका इन्जिनियर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    स्याङ्जास्थित एक विद्यालय पुनर्निर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

    “निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौ,” प्रहरी नायब उपरिक्षक युवराज खड्काले भने, “पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ ।”

    विद्यालयको भवन पुनर्निर्माणका क्रममा अन्तिम निकासाका लागि काम गरिदिनका लागि निजले रकम माग गरेको बताइएको छ । केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने शर्तसहित बोलाइएको थियो । उनी आजै बिहान सप्तरीबाट दमौली आइपुगेका थिए ।

    इन्जिनियर निक्लम शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए ।