दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस नेता प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । गृहजिल्ला तनहुँकाे दमाैलीमा रहेका पाैडेलले शनिबार राति शोकवक्तव्य जारी गर्दै गिरीको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन् ।
समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने भन्दै वरिष्ठ नेता पौडेलले गिरीको आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
गिरीकाे उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएकाे हाे । प्रतिनिधिसभाका सांसदसमेत रहेका गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात् नेपाल फर्किएका थिए । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना भएका थिए ।