दमाैली । तनहुँमा ठूलो राशीको प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । व्यास नगरपालिका–४ स्थित शितलचोक युवा क्लव जिल्लामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
व्यास नगरपालिका–३ स्थित विपी वनवाटिका खेलमैदानमा भदौ ८ गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागिएको र प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडी बढाइएको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक राजेश मल्लले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताका लागि २९ क्लवले दर्ता गरिसकेको र दर्ता गर्ने क्रम जारी रहेको छ । प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, काठमाडौ, स्याङ्जा, धादिङ लगायतका ठाउँबाट क्लवहरुले दर्ता गराइसकेको उहाँले जानकारी दिए।
प्रतियोगितामा विजेताले नगद रु दुइ लाख दुई हजार दुई सय २२ र उपविजेताले रु एक लाख ११ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई रु सात हजार पाँच सय, उत्कृष्ट गोलरक्षकलाई रु सात हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु सात हजार पाँच सय पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।
क्वाटरफाइनलका खेलबाट म्यान अफ दि म्याच खेलाडी घोषणा गरी रु एक हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब रु ११ लाख छ सय ११ खर्च हुने अनुमान गरिएको क्लवका सल्लाहकार माधव न्यौपानेले जानकारी दिए । त्यस्तै प्रतियोगिताबाट रु ११ लाख ९० हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट नाफा भएको रकम युवा तथा खेलकुदको विकासका लागि लगानी गरिने न्यौपानेले जानकारी दिए।
प्रतियोगिता सम्पन्न गर्नका लागि २६ उपसमिति र चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जिल्लामा खेलमैदानको पूर्वाधार नहुँदा ११ ए साइड प्रतियोगिता सञ्चालन गर्न नसकिएकाले सेभेन ए साइड प्रतियोगिता आयोजना गर्नुपरेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता खुल्ला भएकाले जुनसुकै जिल्लाका खेलाडीले पनि प्रतियोगितामा भाग लिन पाउने प्रतियोगिताका आर्थिक व्यवस्थापन समितिका संयोजक दुर्गाराज थापा मगरले बताए ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।