एजेन्सी । फ्रेन्च लिग वानमा पेसिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लिलमाथि उसैको मैदानमा ७–१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई सानदार जित दिलाउनको लागि केलियन एमबाप्पेको ह्याट्रिक गरे भने नेयमार दुई गोलसँगै ह्याट्रिक असिस्ट गरे । त्यस्तै लियोनेल मेस्सी र अचरफ हाकिमीले समान एक–एक गोल गरे । लिलका जोनाथन बम्वाले एक गोल फर्काए ।
पीएसजीले पहिलो हाफमा चार गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थप्यो । खेलको पहिलो मिनेटमै एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले मेस्सीको पासमा गोल गरेका थिए ।
२७औं मिनेटमा नुनो मेन्डिसको पासमा मेस्सीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा नेयमारको पासमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए । ४३औं मिनेटमा नेयमारले गोल गर्दै पहिलो हाफमा पीएसजीलाई ४–० को अग्रता दिलायो ।
५२औं मिनेटमा नेयमारले हाकिमीको पासमा गोल गर्दा पीएसजीले ५–० को अग्रता लियो । ५४औं मिनेटमा जोनाथनले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । त्यसपछिको दुवै गोल एमबाप्पेले गर्दै पीएसजीलाई सानदार जित दिलाए ।
एमबाप्पेले ६६औं मिनेटमा तथा ८७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने दुवै गोलमा नेयमारले असिस्ट गर्दै ह्याट्रिक असिस्ट गरे ।
यो जितसँगै अपराजित रहेको पीएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लिल ४ अंक जोडेर १२औं स्थानमा रहेको छ ।