दमाैली । व्यास बचत तथा ऋण सहकारी संस्थाले आठौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सञ्चालन गरेको छ । शुक्रबार सञ्चालित कार्यशालामा विभिन्न जिल्लाका दश वटा सहकारीको सहभागिता रहेको छ ।
नेफस्कुनको प्राविधिक सहयोग रहेको कार्यशालामा सहकारीका चुनौति र समस्याका बारेमा छलफल गरी सहकारी सञ्चालनका विषयमा प्रशिक्षण दिइनेछ । कार्यशालाले नियम अनुसार सहकारी सञ्चालनका लागि सहयोग पुग्ने व्यास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
कार्यशालाको उद्घाटन समारोहमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सहकारी संस्थाले विश्वसनीयता कायम गर्न सक्नुपर्ने बताए । केही सहकारीका कारण सहकारी क्षेत्र नै बदनाम हुने स्थिति आएकाले प्रतिष्ठामा आँच आउने काम नगर्न उनले सुझाव दिए ।
परिवारको कुनै न कुनै सदस्य सहकारीमा आबद्ध रहेकाले बचतकर्ताको बचत सुरक्षित बनाउन, साना बचतकर्ताको संरक्षणमा ध्यान दिनुपर्ने उनले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेलले सहकारी संस्था नियम अनुसार चल्नुपर्ने बताए ।
कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष वंशीकुमार श्रेष्ठ, उपाध्यक्ष प्रेमप्रसाद पौडेलले सहकारी क्षेत्रका बारेमा धारणा राखेका थिए ।