दमाैली । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा भाग लिन जाने तनहुँका खेलाडीहरुलाई बुधबार विदाई गरिएको छ । पोखरामा हुने प्रदेशस्तरीय छनोट खेलमा भाग लिन जाने विभिन्न विधाका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति तनहुँले विदाई गरेको हो ।
खेलाडी, रेफ्री तथा अफिसियलहरुलाई विदाई गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले प्रदेशस्तरीय खेलमा छनोट भई तनहुँको नाम राख्न खेलाडीलाई शुभकामना दिए ।
खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट क्रिकेट, व्याडमिन्टन, बास्केटबल, उसु, बक्सिङ, फुटबल, भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, टेवलटेनिस, बुद्धिचाल, कराँते, आइटिएम तेक्वान्दो, फुल कन्ट्याक्ट कराँतेका खेलाडी छनोट गरी पठाइएको छ । प्रदेशस्तरीय प्रतिस्पर्धामा छनोट भएका खेलाडीले गण्डकी प्रदेशको टिमबाट नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि तनहुँबाट दुई सय २१ खेलाडी छनोट भएका छन् । फुटबलतर्फ १४ पुरुष र १४ महिना गरी २८, भलिबलतर्फ नौ पुरुष र नौ महिला गरी १८, क्रिकेटतर्फ १४, बास्केटबलतर्फ नौ, टेवलटेनिसतर्फ पाँच, व्याडमिन्टनतर्फ सात पुरुष र पाँच महिला गरी १२, एथलेटिक्सतर्फ नौ पुरुष र नौ महिला गरी १८, बुद्धिचालतर्फ तीन, कराँतेतर्फ २९, कबड्डीतर्फ दश पुरुष र दश महिला गरी २० खेलाडी छनोट भएका छन् ।
आइटिएम तेक्वान्दोतर्फ १४ पुरुष र ११ महिला गरी २५, तेक्वान्दोतर्फ छ पुरुष र छ महिला गरी १२, फूल कन्ट्याक्ट कराँतेतर्फ सात पुरुष र पाँच महिला गरी १२, उसुतर्फ छ पुरुष र छ महिलागरी १२ र बक्सिङतर्फ चार खेलाडी छनोट भएको खेलकुद विकास समितिले जनाएको छ ।