ट्रेड सेन्टर हटाएर जग्गा खाली गराउन समन्वय समितिसँग माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ट्रेड सेन्टर हटाएर जग्गा खाली गराउन समन्वय समितिसँग माग

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७९, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–२ का स्थानीयवासीले गणेशमानचोकमा रहेको दमौली ट्रेड सेन्टर हटाएर उक्त जग्गा खाली राख्न माग गरेका छन् । गणेशमानचोकस्थित दक्षिण पश्चिमतर्फ रहेको सेन्टर तत्कालिन जिल्ला विकास समितिले भाडामा दिएको र सम्झौता समाप्त पश्चात् पनि पुन पटक–पटक म्याद थप्ने कार्य भएकाले उक्त संरचना हटाएर जग्गा खाली राख्न स्थानीयवासीले माग गरेका हुन् ।

    म्याद थप्ने कार्य हुँदा वडाका स्थानीयवासी र प्रतिनिधिहरुलाई सूचित नगरिएको भन्दै उनीहरुले ट्रेड सेन्टर खाली गरी सम्भावित हुन सक्ने प्रकोप, महामारीलाई मध्यनजर गरी जुनसुकै प्रकोपका बेला जनताको जिउज्यान जोगाउन र सुरक्षित हुनका लागि उक्त स्थान अति आवश्यक रहेको व्यास नगरपालिका–२ का वडा सदस्य सुरेश वाग्लेले जानकारी दिए।

    केही दिन अगाडी उक्त वडाका १७ टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको संयुक्त बैठकले ट्रेड सेन्टर खाली गरी उक्त ठाउँलाई खुल्ला ठाउँको रुपमा राख्न माग गरेको थियो ।

    सोही माग बमोजिम मङ्गलबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ । टोल विकास संस्थको निर्णयसहित वाग्लेलाई ज्ञापनपत्र बुझाइएको हो ।

    “वडामा कतैपनि खाली ठाउँ छैन, यस ठाउँमा पहिला खाली ठाउँ थियो, पछि व्यापारिक सटर बनाउन अनुमति दिइयो,” वाग्लेले भने, “पहिलाकै जस्तै खाली ठाउँ बनाउन टोल विकास संस्थाको संयुक्त बैठकले माग गरेको छ ।”

    ज्ञापनपत्र बुझ्दै समन्वय समितिका प्रमुख वाग्लेले स्थानीयवासीको मागप्रति आफू सकरात्मक रहेको बताए। ट्रेड सेन्टरको म्याद सकिने बेला भएकाले अब म्याद थप्ने पक्षमा आफूहरु नरहेको उनले बताए ।

    जिल्ला समन्वय समितिको जग्गामा ११ वर्ष अगाडी व्यापारिक सटर निर्माण गरिएको थियो । सुरुमा पाँच वर्षका लागि सम्झौता भएकामा पाँच वर्ष सकिएपछि पुनः म्याद थप भएको थियो । उक्त सेन्टरको म्याद विसं २०८० असार मसान्तसम्म रहेको छ ।

    ज्ञापनपत्रमा जनजागृती टोल, मालेबगर टोल, उत्तरशीला टोल, बागबजार टोल, कालिका टोल, पुल्चोक टोल, अमरापुरी टोल, बालमन्दिर टोल, सत्यवती टोल, सिद्धिविनायक टोल, सिद्धार्थ टोल, श्री टोल, लक्षिमी टोल, न्युरोड टोल, ग्रिनसिटी टोल, दमौली टोल, नवजागरण टोलका अध्यक्ष तथा प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।