दमाैली । जबरजस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मङ्गलबारकाे इजलासले नायक शाहलाई बाल यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद फैसला सुनाएको हो ।
साथै रु २५ हजार जरीवानाको फैसला समेत भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले खबरपुञ्जलाई जानकारी दिए ।
जबरजस्ती करणी मुद्धामा अभियोगपत्र दर्ता भएपनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । यसअघि भदौ ८ गते पेशी तोकिएमा स्थगित भई मङ्गलबार सुनुवाई भएको हो ।
शाह विरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।
नायक शाह तनहुँ कारागारको थुनामा छन् । उनी विरुद्ध तनहुँ अदालतमा सुनुवाई हुन बाँकी छ । भदौ १५ गते पेशी तोकिएमा उक्त दिन न्यायाधीश बिदामा बसेपछि पेशी स्थगित भएको थियो ।
नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।