दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–७ निवासी मुटुरोगी चन्द्रमाया नेपालीलाई तनहुँ समाज हङकङले रु एक लाख ७९ हजार चार सय ६० सहयोग गरेको छ । विगत १५ वर्षदेखि मुटु सम्बन्धी समस्याबाट ग्रसित ४३ वर्षीया नेपालीलाई समाजले उक्त रकम सहयोग गरेको हो ।
समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले मङ्गलबार उक्त रकम पीडित नेपालीलाई हस्तान्तरण गरेका छन् । रोजगारको सिलसिलामा हङकङ पुगेका तनहुँवासीले गत जुन १५ देखि जुलाई १५ सम्म सहयोग सङ्कलन अभियान चलाएका थिए ।।
मुटुमा प्वाल परेर निरन्तर औषधी सेवन गर्दै आएकी नेपालीको हालै शल्यक्रिया गरिएको छ । त्यसपछि थप औषधि र अन्य पौष्टिक आहारको लागि आर्थिक अभाव भएपछि समाजलाई सहयोगको लागि अपिल गरेको पीडितका श्रीमान् डोलराज नेपालीले बताए।
पोखरा स्थित गण्डकी मेडिकल कलेजबाट रोग पहिचान भएपछि उनकाे काठमाडौस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ ।
उपचारमा रकम अभाव भएको खबर स्थानीयवासी टोल बहादुर थापाले हङकङमा रहेका आफ्ना दाई लालबहादुर थापालाई बताएपछि उनकाे सक्रियतामा हङकङमा रहेका नेपालीहरुबाट रकम सङ्कलन गरिएको हो ।
रकम हस्तान्तरण गर्दै समाजका निवर्तमान अध्यक्ष गुरुङले समाजले तनहुँुङ्गेको दुख, पीडा र विकासमा सहयोग गर्न पाउँदा गर्वको अनुभूति हुने गरेको बताए ।
सोही अवसरमा स्थानीय समाजसेवी श्रीराम आलेले विदेशमा परिश्रम गरेको केही रकम आफ्नो ठाउँमा दुःख पाएका व्यक्तिहरुलाई सहयोग गर्नु अति नै सराकारात्मक काम भएको बताए।
समाजले तनहुँमा विगत एघार वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै केही वर्ष अगाडी पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।
समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैङ्कमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।
समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।
समाजमा चार सय जना तनहँुवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।