दमौली । तनहुँ-१ को सङ्घीय सांसदका लागि दमौली निवासी पृथ्वीनारायण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले मंसिर ४ गते हुने निर्वाचनका लागि सङ्घीय सांसदको उम्मेदवारी घोषणा गरेका हुन् ।
राजनीतिमा व्याप्त अवसरवादका विरुद्ध र राष्ट्रघात, वैदेशिक हस्तक्षेप, परनिर्भरता, भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध, प्रतिपक्षविहिन संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्न गैरदलीय स्वतन्त्र उम्मेदवारको रुपमा जनताका बीचमा जाने घोषणा गरेको उनले बताए ।
मूर्तिकार समेत रहेका श्रेष्ठले कुरुप र धराप देश, राजनीति, समाज र विकासलाई सुन्दर र सवल बनाउन चुनावी मैदानमा उत्रिने निर्णय गरेको उनले बताए । ‘मलाई राजनीतिबाट पैसा कमाउन छैन, समाजसेवा गर्ने रहर हो,’ उनले भने ।
आफूहरु सुन्दरताको पूजारी भएको भन्दै उनले थपे, ‘हामीले कलाकारिताद्वारा देश सिंगार्छु भनेर मात्रै के गर्नु ? कुरुप राजनीति र विकासले देशै कुरुप बनाएको छ, देशलाई सुन्दर बनाउनुछ ।’