‘फुल आइरन म्यान’ मा सहभागी हुँदै तनहुँका श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘फुल आइरन म्यान’ मा सहभागी हुँदै तनहुँका श्रेष्ठ

    कृष्ण न्याैपाने

    ३० आश्विन २०७९, सोमबार

    दमाैली । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका तनहुँको डुम्रे घर भई हाल अमेरिकाको कोलोराडोमा बस्दै आएका रोहित श्रेष्ठ ‘आइरन म्यान ट्रायथलन’ प्रतियोगितामा फुल आइरन म्यानका लागि सहभागी हुने भएका छन् । सगरमाथा आरोहण गरेर फुल आइरन म्यानका लागि सहभागी हुने श्रेष्ठ नेपालकै पहिलो व्यक्ति रहेको दावी गरिएको छ ।

    आगामी साता आइतबार (अक्टोवल २३) का दिन श्रेष्ठ फुल आइरन म्यानका लागि सहभागी हुँदैछन् । फुल आइरन म्यानका लागि एकैदिन ३.९ किलोमिटर समुन्द्र वा तालमा पौडी, १८०.३ किलोमिटर बाइकिङ र ४२.१ किलोमिटर फुल म्याराथन पूरा गर्नुपर्छ । यी तीनवटै इभेन्ट १७ घण्टाभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

    त्यसका लागि स्वीमिङ दुई घण्टा २० मिनेट, बाइकिङ १० घण्टाभित्र र फुल म्याराथन बाँकी समयभित्र सक्नुपर्ने श्रेष्ठले बताए । संसारकै कठिन मानिने यो खेलका लागि अहिले आफू अभ्यास गरिरहेको श्रेष्ठले बताए ।

    “सगरमाथा चढेर फुल आइरन म्यान गर्ने नेपालमा कोही छैनन्, विश्वमा भने निकै कम मात्रै छन्,” उनले खबरपुञ्जसँग भने, “एकदमै कठिन भएपनि सक्छु भन्ने आत्मविश्वास छ ।” नेपालबाट हाफ आइरन म्यान पूरा गर्ने भने एक जना रहेको उनी बताउँछन् । श्रेष्ठले यसका लागि विगत आठ महिनादेखि प्रशिक्षण लिइरहेका छन् । “यो एकदमै जोखिमपूर्ण छ, जुनसुकै बेला जे पनि हुन सक्छ, सजिलो छैन तैपनि सक्छु भन्ने आत्मविश्वासका साथ यसमा सहभागी हुँदैछ,” श्रेष्ठ भन्छन् ।

    फुल आइरन म्यान गरेको भनेर भन्दा विदेशमा छुट्टै मान सम्मान हुने गरेको श्रेष्ठ बताउँछन् । “फुल आइरन म्यान गरेको भन्दा विदेशमा एकदमै ठूलो रुपमा सम्मानको रुपमा लिने गरिएको छ,” उनले भने, “नेपालमा भने यसबारे त्यतिधेरै परिचित छैनन् ।”

    श्रेष्ठले तीन वर्षअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । ‘फुल आइरन म्यान’ का लागि श्रेष्ठसहित अन्य तीन नेपाली विनम श्रेष्ठ, आकृति ज्ञवाली र सुधा शर्मा सहभागी हुँदैछन् ।

    सन् १९७८ मा ‘आइरन म्यान’ खेल पहिलोपटक अमेरिकामा भएको थियो । अमेरिकी नौ सेना कमाण्डर जोन कोभिन्स र उनको श्रीमतीले सुरु गरेका थिए । पहिलो कार्यक्रममा अमेरिकाको हवाईमा १५ जना खेलाडीहरूको सहभागिता रहेको थियो । त्यसबेलादेखि ’एनिथिङ इज पोसिबल’ नारासहित मानवको बाधा हटाउन यो खेल सुरु भएको हो ।