दमाैली । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी र बागमती प्रदेश महिला बास्केटबलको फाइनलमा प्रवेश गरेका छन् । तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा मङ्गलबार सम्पन्न सेमिफाइनल खेलबाट त्रिभुवन आर्मी क्लव र बागमती प्रदेशले फाइनलको यात्रा तय गरेको हो ।
त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशलाई ६७–३५ ले पराजित गर्दै फाइनलको यात्रा पक्का ग¥यो । त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशलाई पहिलो क्वाटरमा २०–६, दोस्रो क्वाटरमा १९–१५, तेस्रो क्वाटरमा ११–१५ र चौथो क्वाटरमा १७–९ अङ्क सहित पराजित गरेको हो ।
त्रिभुवन आर्मीको जितमा प्रतिक्षा मगरले व्यक्तिगत १६ अङ्क जाेडिन् भने गण्डकी प्रदेशका लेशेम पुनले १७ अङ्क जोडेकी थिइन् ।
दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । बागमतीले सुदुरपश्चिमलाई ८३–२५ को फराकिलो अन्तरले पराजित गरेको छ ।
बागमतीले पहिलो क्वाटरमा २०–४, दोस्रो क्वाटरमा २५–८, तेस्रो क्वाटरमा १८–३ र चौथो क्वाटरमा २०–१० अङ्क प्राप्त गरेको छ । बागमतीको जितमा श्रेया खड्काले व्यक्तिगत सबैभन्दा बढी २१ अङ्क जाेडिन् भने सुदुरपश्चिमका सन्जु हायुले १३ अङ्क जाेडिन् ।
त्रिभुवन आर्मी क्लव र बागमती प्रदेशबीचको फाइनल खेल बुधबार दिउँसो ३ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए ।
थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको छ । थ्री बाई थ्रीको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लवले गण्डकीलाई र सशस्त्र प्रहरीले बागमती प्रदेशलाई पराजित गरेको छ ।
त्रिभुवन आर्मी क्लवले गण्डकीलाई ८–६ ले पराजित गरेको छ । उक्त खेलमा त्रिभुवन आर्मी क्लवका जेनिशा श्रेष्ठले व्यक्तिगत तीन र गण्डकीका स्मृति गुरुङले चार अङ्क जाेडिन् ।
सशस्त्र प्रहरीले बागमतीलाई २१–७ ले पराजित गरेको छ । उक्त खेलमा सशस्त्रका आकृति श्रेष्ठले व्यक्तिगत आठ र बागमतीका प्रजिता कार्कीले पाँच अङ्क जोडिन् ।
थ्री बाई थ्रीको फाइनल खेल पनि बुधबार सञ्चालन हुने आयोजकले जनाएको छ ।
फुलकोर्टतर्फ समूह (ए) को विजेता बन्दै त्रिभुवन आर्मी क्लव सेमिफाइनल प्रवेश गरेको थियो भने समूह (बी) को उपविजेता बन्दै गण्डकी प्रदेश सेमिफाइनल पुगेको थियो । समूह (बी) को विजेता बन्दै बागमती प्रदेश सेमिफाइनल प्रवेश गर्दा समूह (ए) को उपविजेता सुदुुरपश्चिम सेमिफाइनल प्रवेश गरेको थियो ।
थ्री बाई थ्रीतर्फ समूह (ए) को विजेता बनेर त्रिभुवन आर्मी क्लव सेमिफाइनल प्रवेश गर्दा गण्डकी प्रदेश समूह (बी) को उपविजेता बनेको थियो । समूह (बी) को विजेता बन्दै सशस्त्र प्रहरी सेमिफाइनल प्रवेश गर्दा समूह (ए) को विजेता बागमती प्रदेश बनेको थियो ।
कास्यका लागि गण्डकी र सुदुरपश्चिम भिड्दै
प्रतियोगिताको तेस्रो स्थान कास्य पदकका लागि फुलेकार्टतर्फ गण्डकी र सुदुरपश्चिम प्रदेशबीच खेल हुने भएको छ ।
थ्री बाई थ्री तर्फ तेस्रो स्थानका लागि गण्डकी र बागमती प्रदेशबीच खेल हुनेछ । दुवै खेल बुधबार बिहान सञ्चालन हुनेछ । महिला बास्केटबलतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक रहेको छ ।