दमौलीमा छठ मनाउन रौनकता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा छठ मनाउन रौनकता

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७९, आईतवार

    दमाैली । भारत तथा मधेश प्रदेशका विभिन्न जिल्ला घर भई दमौली बसोबास गर्दै आएकाहरुले उल्लासमय तरिकाले छठ मनाएका छन् । छठ पर्वको अवसरमा उनीहरुले आइतबार साँझ दमौलीस्थित मादी नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।

    मधेश प्रदेशमा धुमधामका साथ मनाइने छठ पर्वको रौनकता विगत केही वर्षयता तनहुँमा पनि बढेको छ । विशेषगरि तराई क्षेत्रमा धुमधामसँग मनाइने छठ पर्वको चहलपहल तनहुँमा पनि बढेको हो ।

    छठपर्वलाई विशेष बनाउन व्यास नगरपालिकास्थित मादी किनारमा पूजा गर्ने स्थान बनाइएको छ । भक्तालुहरुले मादी र सेती नदीको किनारमा आकर्षक घाट निर्माण गरेर पूजापाठ गरेको स्थानीय अप्सरा लामा साहले बताइन् ।

    विगत लामो समयदेखि दमौलमिा छठ पर्व मनाउँदै आउनुभएका व्यवसायी सुरेश साहले दमौलीमा पनि छठको रौनकता बढेको बताए ।

    सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव जीवन र प्रकृतिसँग पनि सम्बन्ध राख्दछ । पहिलो दिन व्रतालुहरुले नहायखाय गरी छठ पूजाको विधि सुरु गर्छन् । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा तथा अघ्र्य चढाउने र चौथो दिन पनि उदाउँदो सूर्यको पूजासँगै अघ्र्य चढाएर समापन गरिने यो पर्वमा नदी, तलाउ तथा पानीको मुहानमा गएर पूजा गर्नुको पनि खास अर्थ रहने गर्दछ ।

    नेपालमा विशेषगरी मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन रहेको छ ।

    पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास रहेकाे छ । दमौलीमा करिब दुई सय भन्दा बढीले छठ पर्व मनाएका छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व समापन हुन्छ ।