रामचन्द्र पौडेल भन्छन् – निर्वाचनपछि पनि गठबन्धन सरकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    रामचन्द्र पौडेल भन्छन् – निर्वाचनपछि पनि गठबन्धन सरकार

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७९, आईतवार

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने बताएका छन् ।

    तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मङ्सिर ४ गतेपछि पनि अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताए । “चुनावपछि पनि मिलेर गठबन्धनको सरकार बनाउँछौ, गठबन्धनले मिलेर देश विकास गर्छ”, पौडेलले भने, “संविधानको रक्षाका साथै विकास निर्माणमा गठबन्धन प्रतिबद्ध छ ।”

    संविधानले प्रत्याभूत गरेको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै पौडेलले गाउँगाउँमा जनताले पाएको अधिकार रक्षा गरिने दाबी गरे । देशमा लगानी भित्र्याएर उद्योग कलकारखाना स्थापना गर्ने र युवालाई स्वदेशमै रोजगारी प्रदान गरिने पौडेलको भनाइ थियो । “उद्योगधन्दा खोलेर युवालाई विदेश जान नपर्ने बनाउँछौँ”, पौडेलले भने ।

    वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले यस क्षेत्रका जनताका समस्याबारे आफूहरु जानकार रहेको भन्दै समस्या समाधानमा क्रियाशील हुने बताए ।