दमौली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् । तनहुँको बन्दीपुर-१ डुम्रेमा सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रचण्डले पौडेलको कार्यकारी पदमा पुग्ने इच्छा सबैलाई जानकारी भएको बताए ।
‘अत्याधिक मत दिएर जिताए पौडेलजीको सम्भावना बढ्यो, बढ्यो, बढ्यो’ उनले भने, ‘सकी नसकी जिताए गाह्रो पर्छ फेरि ।’
प्रचण्डले नेपाललाई आर्थिक समृद्धिको नयॉ यात्रामा लैजाने संकल्प लिइएको बताए । “यस पटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रुपमा सम्पन्न हुँदैछ” प्रचण्डले भने । संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधान अनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचेपनि घटनाक्रम त्यसरी विकसित नभएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
“घटनाक्रमको विकास त झण्डै ७० वर्ष लामो सङ्घर्षबाट उपलब्धी प्रहार गर्नेतिर गयो, जसलाई प्रधानमन्त्रीको रुपमा अगाडी सा¥यौ, उहाँले नै संविधानमाथि प्रहार गर्ने काम गर्नुभयो,” प्रचण्डले भने । तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै अध्यक्ष प्रचण्डले जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको बताए ।
प्रचण्डले नेकपा एमालेलाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको बताए । “संसद विघटन, पार्टी विभाजन, अधिकार खोस्नेहरुलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ,” पौडेलले भने ।