दमाैली । मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन नियोकले भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) तनहुँले निर्वाचन पर्यवेक्षकहरुका लागि सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै वक्ताहरुले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले पर्यवेक्षकहरुले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । निर्वाचन अन्तर्गत मतदानपूर्वदेखि मतगणनासम्मको कार्यमा पर्यवेक्षकहरुले निष्पक्ष भूमिका खेल्न ढकालले आग्रह गरे ।
नियोककी अध्यक्ष सोनी शर्माले जिल्लामा विगतका वर्षदेखि नै संस्थाले निर्वाचनमा पर्यवेक्षणको काम गर्दै आएकाले निर्वाचनमा खटिने पर्यवेक्षकले इमानदारिताका साथ काम गर्न आग्रह गरिन् ।
नियोगका सचिव प्रकाशचन्द्र भट्टराईले निर्वाचनका क्रममा पर्यवेक्षकले गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।