दमौली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य–२०७९ अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ बाट नेकपा (माओवादी) केन्द्रका हरिबहादुर चुमान निर्वाचित भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनबाट चुमान दुई हजार सात सय ७३ मतान्तर सहित विजयी भएका हुन् ।
बुधबार साँझ ७ः१५ बजे सार्वजनिक मतपरिणाम अनुसार १३ हजार दुई सय ७१ मत प्राप्त गरी चुमान विजयी भए । कूल ३० हजार तीन सय ८९ मत खसेकामा प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णबहादुर गुरुङले दश हजार चार सय ९८ मत प्राप्त गरे ।
यद्यपि औपचारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुंवरले बताए । प्रत्यक्षतर्फको केही मतपत्र समानुपातिकको मतपेटिकामा खसेकाले उक्त मतपत्र गणनापछि मात्रै औपचारिक घोषणा हुने उनले बताए । “समानुपातिकको मतगणना सकिएपछि मात्रै औपचारिक घोषणा गर्छौ,” उनले भने ।
चुमान गण्डकी प्रदेशका मुख्यमन्त्रीका दावेदार हुन् ।
यो प्रदेशमा व्यास नगरपालिका–१, १२, १३ र १४, बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका पर्दछ ।