दमाैली । व्यास नगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सोमबार नगरपालिकाले १४ वडाका एक÷एक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो ।
वर्षभरी गरेका कामको मूल्याङ्कन गरी १४ जनालाई सम्मान गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले दोसल्ला र प्रमाणपत्रले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङ, नर्सिङ निरीक्षक कल्पना कोइराला, महिला स्वयंसेविका अध्यक्ष माया सोती लगायतले मन्तव्य राखेका थिए ।