दमौली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा ८६ फूलको डोली भित्रिएको छ । मङ्सिर महिनाको तेस्रो मङ्गलबार मन्दिरमा ८६ फूलको डोली भित्रिएको हो ।
तनहुँ, लमजुङ, गोरखा, कास्की, चितवन लगायतका जिल्लाबाट आएका भक्तजनले बाजागाजा सहित फुूलको डोली भित्र्याएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए । उनका अनुसार त्यसक्रममा सात हजार सात सय भन्दा बढी भक्तजनले मन्दिरमा पूजाअर्चना गरेका छन् । सोमबार राति तीन सय ११ जना भक्तजनले रातभर जागाराम बसेर बत्ती बालेका थिए ।
दोस्रो मङ्गलबार मन्दिरमा ६० फूलको डोली भित्रिएको थियो । मन्दिरमा कात्तिक, मङ्सिर, पुस र माघको प्रत्येक हप्ताको मङ्गलबार फूलको डोली भित्र्याउने प्रलचन छ । विशेषगरी कात्तिक र माघमा बढी भक्तजनको आगमन हुने गरेको थापाले बताए ।
मङ्सिर महिनाको पहिलो मङ्गलबार शुक्र अन्न परेका कारण फूलको डोली भित्रिएको थिएन । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ
पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनहरूको सङ्ख्या बढ्न थालेको छ । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ
समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।
विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाई छ ।