ऋषिङका यी वडाध्यक्ष, जसले आफ्नै निजी सवारीमा बिरामी अस्पताल पुर्याउँछन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङका यी वडाध्यक्ष, जसले आफ्नै निजी सवारीमा बिरामी अस्पताल पुर्याउँछन्

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७९, बुधबार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिका-८ वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले रुखबाट लडेर घाइते भएका एक वडावासीलाई आफ्नै निजी सवारीमा अस्पताल पुर्याएका छन् । घॉस काट्ने क्रममा बुधबार रुखबाट लडेर घाइते भएका धारुङ निवासी जुद्धबहादुर गुरुङलाई वडाध्यक्ष श्रेष्ठले आफ्नै सवारीमा पोखरास्थित गण्डकी मेडिकल कलेज पुर्याएका हुन् ।

    रुखबाट लडेर घाइते भएका जानकारी पाउने बित्तिकै वडाध्यक्ष श्रेष्ठले निजलाई लिएर अस्पताल पुगेका हुन् । आफ्नो चुनावी घोषणापत्र अनुसार नै वडावासीलाई निशुल्क सेवा दिएको उनले बताए । ‘मैले चुनावकै बेला जनताको सेवाका लागि निशुल्क सवारी उपलब्ध गराउँछु भनेको थिएँ, अहिले जनताको सेवा गर्न पाउँदा खुसी लाग्छ,’ उनले भने ।

    वडाध्यक्ष श्रेष्ठले यसअघि पनि थुप्रै वडावासीलाई बिरामी भएको बेला र दुर्घटनामा परी घाइते भएका बेला सवारी सुविधा उपलब्ध गराउँदै अस्पताल पुर्याउने गरेका छन् ।

    नेपाली कांग्रेसबाट टिकट नपाएपछि श्रेष्ठले स्वतन्त्र रुपमा उठेर विजय हासिल गरेका थिए । पिता सहिद सरस्वतीकृष्ण श्रेष्ठको सपना पूरा गर्न राजनीतिमा लागेको बताउँदै श्रेष्ठले भने, ‘बुबाको सपना पूरा गर्नका लागि राजनीतिमा लागेको हूँ, कांग्रेसबाट विद्रोह गर्दा पनि जनताले मलाई साथ दिए, जनताको भरोसा टुट्न दिन्न ।’