


दमाैली । ठेक्का सम्झाैता भएरपनि काम अगाडी बढ्न नसकेकाे भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा माेटरमार्गमा गण्डकी प्रदेशका नवनिर्वाचित सांसद अशाेककुमार श्रेष्ठले चासाे लिएका छन् । दुई पटक म्याद थप हुँदापनि प्रगति नभएपछि सांसद श्रेष्ठले चासाे व्यक्त गर्दै छिटाेभन्दा छिटाे काम अगाडी बढाउन चासाे व्यक्त गरेका हुन् ।
श्रेष्ठकाे सहभागिता र भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, गण्डकी प्रदेश भौतिक तथा यातायात मन्त्रालयका सचिव गणेशराज वस्ती, पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरे लगायतको उपस्थितिमा बसेको बैठकले उक्त बाटोको कामलाई तत्कालै अगाडी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
निर्माण कम्पनीले सडक योजनाको निर्माण कार्य गर्ने गरी पूर्वाधार विकास कार्यालयसँग भएको सम्झौता बमोजिमको काम सम्पन्न गर्न कार्ययोजना सहितको विवरण आगामी दुईदिनभित्र पूर्वाधार कार्यालयमा पेश गर्न निर्देशन दिने बैठकले निर्णय गरेको छ । यो निर्णयलाई वेवास्ता गरी निर्माण कार्य सुचारु गर्न ढिलाई भएमा निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउने निर्णय भएको छ ।

ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति तीन वर्षमा १४ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति तीन वर्षमा अत्यन्तै न्यून रहेको हो ।
निर्माण व्यवसायीको लापरवाहीका कारण दुई पटक म्याद थप हुँदा समेत काम नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएको स्थानीय अगुवा गलबहादुर गुरुङले बताए। “दश किलोमिटर सडकखण्ड कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापरवाही गर्दै आएका छन्, पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि काम अगाडी बढ्न सकेन,” उनले भने “बाटोको काम नहुँदा सर्वसाधारणले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती बेहोर्नुपरेको छ ।”
पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दश किमि खण्ड कालोपत्रे, नाला निर्माण तथा ग्याविन जाली भर्ने लगायतका कामका लागि काठमाडौस्थित शङ्करमाली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरवाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासी रहनुभएका जिल्ला समन्वय समिति तनहुँका पूर्व सदस्य गुरुङले गुनासो गरे।
उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई रु दुई करोड ६८ लाख निकासा गरिसकेको छ । समयमा काम सम्पन्न नभएपछि विसं २०८० असार मसान्तसम्म म्याद थप भएको कार्यालयले जनाएको छ ।
दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्ने लगायतका काम विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्न विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । त्यसयता दुई पटक म्याद थप भइसकेको छ ।
विसं २०४९ सालमा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । वर्षात्का बेला सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
यसअघि प्रमुख जिल्ला अधिकारीको समन्वयमा बैठक बसी काम तत्कालै सुचारु गर्ने सहमति भएपनि उक्त सहमति कार्यान्वयन नभएको स्थानीयवासी बताउँछन् ।
सडक कालोपत्रे गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले वर्षात्मा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापरवाहीका कारण वर्षात्मा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्ण अधिकारीले बताए ।