दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेका छन् । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उनले भने, “विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।”
बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गरेका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताए । असिम भैसीफार्मका सञ्चालक उनले मासिक रु ५० हजार बचत गर्दै आएका छन्। उनले आठ रोपनी जग्गा भाडामा लिएर भैँसी पालिरहेका छन् ।
प्रति भैसी रु दुई लाख ५० हजारका दरले छ भँैसी खरिद गरेर व्यवसाय सुरु गरेका उनले भने, “विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ ।” आखिर जहाँ गएपनि श्रम गर्नुपर्ने जनाउँदै उनले देशमै केही गरौं भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताए ।
“स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैसीपालनलाई अगाडी बढाएको छु,” उनले भने । उनको भैँसीफार्ममा अहिले १३ वटा भैसी छन् । भँैसीका लागि आवश्यक घाँसका लागि उहाँले जग्गा भाडामा लिएका छन् ।
उनका अनुसार हालसम्म करिब रु ३० लाख लगानी भएको छ । भैँसीफार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ । दूध विक्रीका लागि बजारको समस्या नरहेको किसान श्रेष्ठ बताउँछन् । “दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,” उनी भन्छन्, “स्थानीय थर्पु बजार तथा आसपासमा दूध विक्री भइरहेको छ ।”
बजार सानो भएपनि दूध विक्रीका लागि समस्या नहुँदा खुशी लागेको उनले बताए । मासिक रु ५० हजार बचतले घरपरिवार राम्रोसँग चलेको श्रेष्ठ बताउँछन् । “सबै खर्च कटाएर मासिक रु ५० हजार कमाउँछु, यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ,” उनले भने, “व्यवसायलाई विस्तार गर्ने सोच बनाएको छु ।”
उनले हालसम्म कुनै पनि सङ्घसंस्थाबाट अनुदान लिएका छैनन् । “म्याग्दे गाउँपालिकाले हालैमात्र पशुपालन गरिरहेका कृषकलाई लक्षित गरी सूचना जारी गरेको थियो, अनुदान उपलब्ध गराउने भन्ने बारेको सूचना प्रकाशित भएपछि गाउँपालिकामा निवेदन दिएको छु,” उनले भने, “अनुदानबापत प्राप्त हुने रकम भैसीपालनमै खर्चिन्छु ।”
पशुपालनका लागि स्थानीय सरकारले देखाएको चासोले थप प्रोत्साहन जागेको भन्दै किसान श्रेष्ठले यस्ता कार्यक्रमले व्यवसायमा टिकिराख्न सहयोग पुग्ने उल्लेख गरे ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवाहरु विदेश नगई स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए।