


दमौली । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले प्रधानमन्त्री बन्छु भनेर भोट मागेकाले तनहुँको बदनाम गरेको बताएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलप्रति इंगित गर्दै जोशीले प्रधानमन्त्री बन्छु भनेर भोट माग्ने तर सरकार आफ्नो हातमा लिन नसकेर तनहुँ बदनाम भएको आरोप लगाए ।
‘हिजो राष्ट्रिय राजनीतिमा तनहुँले चाहेको हुन्थ्यो अहिले सरकार बनाउन नसक्ने अवस्थामा पुगेको छ’ नेता जोशीले भने । बिपी विचार समाज तनहुँले ५७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शनिबार व्यास नगरपालिका–१ तालघरेमा आयोजित कार्यक्रममा जोशीले सरकार बनाउन नसक्नु कांग्रेसका लागि लाजमर्दो भएको टिप्पणी गरे ।

नेता जोशीले चुनावको लागि अपित्र गठबन्धन गरिएकोले कांग्रेस पछि परेको बताए । पहिलो पाटी भएर पनि प्रतिपक्षमा बस्नुपर्ने बाध्यता आईलाग्दा कांग्रेस संगठन धेरै कमजोर बनेको उनको भनाई थियो । कांग्रेस सरकारविहिन भएर बस्नुमा यसको नेतृत्व लिने पार्टी सभापति, वरिष्ठ नेता, पदाधिकारीहरु, केन्द्रीय नेताहरु सबैको दोषी रहेको उनले जिकिर गरे ।