दमौली ।तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामशाह माध्यमिक विद्यालयले जितेको छ । आँबुखैरेनी–३ स्थित रामशाह मावि र फ्युचर स्टार बोर्डिङ्ग स्कुलको खेल मैदानमा माघ २८ देखि फागुन १ गते सम्म भएको आँबुखैरेनी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामशाह मावि प्रथम भएको हो ।
गाउँपालिकाभित्रका ५ वटा संस्थागत र ६ वटा सामुदायिक विद्यालय गरी ११ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा १० स्वर्ण, ६ रजत र ५ कास्य पदक गरी २१ अङ्कका साथ रामशाह माविले चौथो राष्ट्रिपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।
प्रतियोगितामा मित्रता मावि आँबु–१, सत्रसय ८ स्वर्ण, ८ रजत र ३ कास्य पदक गरी १९ अङ्कका साथ दोस्रो भएको छ । फ्युचर स्टार बोर्डिङ्ग स्कुल ३ स्वर्ण, २ कास्य पदक गरी ५ अङ्कका साथ तेस्रो भएको शिक्षा शाखाका प्रमुख निर्मला कुवँरले जानकारी दिइन् ।
भलिबल, हाईजम्प, लङजम्प, ट्रिपल जम्प सटपुट, दौड, ज्याबलिङ थ्रो एथलेटिक्स विधामा गरी जम्मा २६ वटा इभेन्टहरूमा भएको प्रतियोगितामा प्रथम हुने रामशाह माविले नगद २५ हजार नगद, शिल्ड र प्रमाण पत्र पाप्त गरेको छ ।
दोस्रो हुने मित्रता माविले नगद २० हजार, शिल्ड र प्रमाण पत्र पाप्त गरेको छ भने तेस्रो हुने फ्युचर स्टार बोर्डिङ्ग स्कुलले नगद १० हजार नगद र प्रमाण पत्र पाप्त गरेको छ ।
विजयी विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसा शर्मा लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा एक्टिभ ग्रिनल्याण्ड इंग्लिस बोर्डिङ्ग स्कुलले २ स्वर्ण २ रजत, मस्र्याङ्गदी बालज्योती इंग्लिस बोर्डिङ्ग स्कुलले २ स्वर्ण, ३ रजत, ७ कास्य, कन्यादेवी माविले १ स्वर्ण, ३ रजत, छिम्केश्वरी माविले २ रजत, ५ कास्य, चन्द्रोदय माविले २ रजत, ३ कास्य, लक्ष्मी माविले १ कास्य पदक प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।