अन्तरविद्यालय बास्केटबल प्रतियोगिता : छात्रछात्राको उपाधि नै सत्यवतीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तरविद्यालय बास्केटबल प्रतियोगिता : छात्रछात्राको उपाधि नै सत्यवतीलाई

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७९, बुधबार

    दमाैली । हैरान्स क्लवले आयोजना गरेको अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिताको उपाधि सत्यवती माध्यमिक विद्यालयले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा छात्रछात्रातर्फको दुवै उपाधि व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले जितेको हो ।

    छात्रतर्फ बाराही आवासीय माध्यमिक विद्यालयलाई सत्यवती माविले २६–२० ले पराजित गरेको छ । निर्धारित चार क्वाटरमा २०–२० अङ्क प्राप्त भएपछि खेल तीन मिनेट अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा छ अङ्क थप गरेपछि सत्यवती विजेता घोषित हुन सफल भयो ।

    छात्रातर्फ पराशर माविलाई ४–० ले पराजित गर्दै सत्यवती माविले उपाधि प्राप्त गरेको छ । उपाधिसँगै सत्यवती माविले रनिङशिल्ड ट्रफी प्राप्त गरेको छ ।

    छात्रतर्फ सर्वाधिक गोलकर्ताको उपाधि सत्यवतीका रोमित थापा र छात्रातर्फ पराशर माविकी सनुषा विकले प्राप्त गरेको क्लवले जनाएको छ ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्फ व्यासका साजन थापा र छात्रातर्फ सत्यवती माविकी भूमिका गोशलीले प्राप्त गरे।

    आज नै भएको सेमिफाइनलमा छात्रतर्फ सत्यवती माविले पराशर कलेजलाई पराजित गरेको थियो । त्यस्तै व्यास दिव्यज्योति बोर्डिङ स्कूललाई पराजित गर्दै बाराही आवासीय माध्यमिक विद्यालय फाइनल प्रवेश गरेको थियो ।

    छात्रातर्फको सेमिफाइनलमा सत्यवती माविले दमौली कलेजलाई पराजित गरेको थियो भने निर्मल माविलाई पराशर कलेजले पराजित गरेको थियो ।

    प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कूल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजको सहभागिता थियो । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कूल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कूलको सहभागिता थियो ।

    विद्यालय स्तरदेखि नै बास्केटबल खेलप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष रविन पौडेलले जानकारी दिए ।

    विजेतालाई व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले पुरस्कार वितरण गरेका थिए ।