सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेले विदेश जान नपाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति नदिएको हो। 

    सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो। 

    जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर उनको अपिल अनुसार आदेश नहुने सर्वोच्चको आदेश छ। 

    यससँगै सर्वोच्चले उच्च अदालतको पुस २८ गतेको आदेशविरुद्ध परेको रिट निवेदन पनि एकसाथ आइतवार पेश गर्न न्यायाधीश खतिवडाले आदेश दिएका छन्। 

    सर्वोच्चको यो आदेशपछि सन्दीप नेपाली क्रिकेट टोलीसँग शनिबार युएई जान नपाउने भएका छन्। यदि आइतवार उनको पक्षमा आदेश आएमा बाँकी खेलका लागि उनलाई युएई लाने क्यानको तयारी छ।

    सोमबारदेखि युएईको दुबईमा हुने त्रिकोणात्मक सिरिज नेपाली टिमले सन्दीपबिनै खेल्नेछ। त्यहाँ पपुवान्युगिनी र युएईसँग नेपालले ४ खेल खेल्नेछ। त्यसपछि कीर्तिपुरमा हुने ४ खेल भने सन्दीपले खेल्न पाउनेछन्। 

    यसअघि नामिविया र स्कटल्याण्डविरुद्ध भएका ४ खेलमा सन्दीप पनि सहभागी थिए। उनी उक्त सिरिजका सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्। 

    सन्दीपमाथिको प्रतिबन्ध हटाइदिन क्यानले पनि अपिल गरेको थियो। नेपाली टिमका व्यवस्थापक विनोद दासले इजलासमै पुगेर सन्दीपलाई नेपाल फर्काउने जिम्मा आफ्नो हुने बताएका थिए। 

    उनले पनि सन्दीपलाई राष्ट्रका तर्फबाट खेल्न युएई जान अनुमति दिन आग्रह गरेका थिए।