रामचन्द्र पौडेल राष्ट्रपति हुँदा तनहुँ–१ नेकपा (एस) ले पाउनुपर्छ : श्रीराम कार्की
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रामचन्द्र पौडेल राष्ट्रपति हुँदा तनहुँ–१ नेकपा (एस) ले पाउनुपर्छ : श्रीराम कार्की

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७९, आईतवार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएसँगै यो क्षेत्रमा उपनिर्वाचन हुने सम्भावना बढेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी) सहित आठ दलको समर्थनमा पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    कुनै चमत्कार नभए पौडेल राष्ट्रपतिमा निर्वाचित हुनेछन् । राष्ट्रपतिमा निर्वाचन भएसँगै तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पद रिक्त हुनेछ । पद रिक्त भएको छ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ । पौडेलको पद रिक्त भएसँगै तनहुँ क्षेत्र नम्बर १ मा को उम्मेदवार बन्छ भन्ने बारेमा अहिल्यैदेखि चर्चा परिचर्चा सुरु भइसकेको छ । नेपाली कांग्रेसका केही कार्यकर्ताले अब केन्द्रीय सदस्य गोविन्द भट्टराईले टिकट पाउने हल्ला फिजाइरहेका छन् ।

    गत निर्वाचनमा पौडेललाई साथ दिएको नेकपा एकीकृत समाजवादीले भने अबको निर्वाचनमा आफूहरुले उक्त ठाउँ पाउनुपर्ने बताएको छ । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले तनहुँ क्षेत्र नम्बर १ मा आफूहरुको दावी रहने बताएका छन् ।

    मंसिर ४ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीलाई कुनै पनि सिट नदिइएकाले उपनिर्वाचनमा आफूहरुको दावी स्वभाविक भएको बताए । कार्कीले भने, “यदि राजनीतिमा ईमानदारीता छ भने अब यसपटक उहाँको ठाउँ खाली हुँदा त्यो ठाउँ नेकपा ( एकीकृत समाजवादी ) का उम्मेदवारलाई दिनुपर्ने छ, हिजो वरिष्ठ नेताज्युलाई छोड्नु पर्यो भनेर नेकपा ( एस) का किसान श्रेष्ठलाई बारा जिल्ला पठाईएको थियो । उहाँले पनि काकालाई भनेर ससम्मान छोड्नु भएको थियोे ।”

    आफ्ना पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्ने अवसर पाउँदा पनि रामचन्द्र पौडेलका लागि उक्त पद छाडिदिएकाले उपनिर्वाचनमा आफूहरुको पार्टीका तर्फबाट उम्मेदवारी दावी प्रस्तुत गरिने कार्कीले बताए ।