पाेखरा । पोखरा उच्च अदाललते नायक पल शाहलाई यौन दुर्व्यवहार र बलात्कार दुवै आरोपबाट सफाइ दिएको छ । बलात्कारको अभियोग दर्ता भए पनि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि जाहेरवालातर्फबाट सरकारी वकिल र पल शाह दुवै उच्च अदालत पोखरा पुगेका थिए ।
उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसहितको इजलासले आइतबार साँझ लेखेको संक्षिप्त फैसलामा शाहले सफाइ पाउनुपर्ने कारणहरु उल्लेख गरिएको छ ।
फैसलामा बलात्कारको उजुरी परे पनि शाहले प्रहरी र अदालत दुवैमा आरोप अस्वीकार गरेको र जाहेरवालीले अदालतमा उजुरी झूटो भएको बकपत्र गरेकोलाई प्रमाणका रुपमा हेरिएको छ । यस्तै जाहेरवालाले घटनाको ५ महिनापछि शाहलाई गरेको म्यासेज, शाहको पोलिग्राफ परीक्षणलाई पनि प्रमाणका रुपमा हेरिएको छ ।
शाह र जाहेरवालीबीच भएको संवादको अडियो रेकर्ड भने शंकारहित प्रमाण र अन्य वस्तुनिस्ट प्रमाणबाट समर्थित हुन नसकेको पनि फैसलामा उल्लेख छ ।