दमौली। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्ड थप १५ दिन दैनिक चार घण्टा बन्द गर्न लागिएको हो ।
उक्त खण्डमा गत फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएको थियो । फागुन २८ गतेदेखि चैत १२ गतेसम्म सोही समय अवधिमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।
उक्त खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको सहायक प्रजिअ गैह्रेले बताए ।
राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले थप १५ दिन बाटो बन्द गर्न अनुरोध भएपछि प्रशासन कार्यालयबाट निर्णय भएको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार बाटो बन्द गरेर रातको समयमा भिर काट्ने काम भइरहेको छ ।