यूएईसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै, ज्ञानेन्द्र र करण बेन्चमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यूएईसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै, ज्ञानेन्द्र र करण बेन्चमा

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७९, आईतवार

    काठमाडौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

    कीर्तिपुर मैदानमा टस जितेको नेपालले पहिला ब्याटिङ रोजेको हो ।  नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । ललितनारायण राजवंशी र गुलशन झालाई टाेलीमा समेटेको छ ।

    नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित यो शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ११ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ५ पटक र यूएई ६ पटक विजयी भएको छ ।

     कीर्तिपुर मैदानमा भएका तीन खेलमा नेपालले २ वटामा जितेको छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अङ्ककासाथ पाँचौँ स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्ककासाथ चौथो स्थानमा छ । नेपालले आजको खेलमा यूएईलाई हराउँदा ३६ अङ्ककासाथ चौथो स्थानमा उक्लिनेछ ।

    आज जितेमा बाँकी दुई खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता कायम हुनेछ । यूएईको ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अङ्क छ । यूएई छैटौँ स्थानमा छ । नेपाललाई सोझै विश्व कप छनोट खेल्न भने बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । यूएई शीर्ष तीनबाट बाहिरिएको छ ।

    यो शृङ्खला क्रिकेट लिग–२ को अन्तिम शृङ्खला हो । नेपालले भोलि पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।